Tune to BFM 91.2|Biratnagar

दैनिक १२ हजार खर्च गरेर संक्रमितलाई एम्बुलेन्स सेवा

विराटनगर, २५ जेठ । राजनैतिक एवं सामाजिक अभियन्ता कृष्ण कार्कीले विराटनगर महानगरपालिकाभित्र कोरोना संक्रमितलाई बोक्नका लागि अक्सिजनसहितको एम्बुलेन्स निःशुल्क उपलब्ध गराउनु भएको छ । संक्रमितलाई उपचारका लागि अस्पतालसम्म लैजान एम्बुलेन्स नपाउने अवस्था बनिरहेका बेला उहाँले चन्द्र पराजुली फायण्डेसनसँगको सहकार्यमा आफ्नै निजी खर्चमा को २ च ३१२२ नम्बरको एम्बुलेन्सको व्यवस्था मिलाउनु भएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर बनेका संक्रमितले सहज रुपमा एम्बुलेन्स सेवा नपाउँदा अस्पताल नपुगिकन ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भइरहेको पाएपछि अक्सिजनसहितको एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराएको उहाँले बताउनु भयो ।

कार्की नेपाल विद्यार्थी संघका पूर्वसह–महामन्त्री एवं नेपाली कांग्रेसका युवा नेता हुनुहुन्छ । उहाँ आफैले दैनिक १२ हजार रुपैयाँभन्दा बढी खर्च गर्दै उपचारका लागि संक्रमितलाई अस्पताल र निको भएकालाई घरसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाउनु भएको हो । विराटनगर महानगरपालिकाभित्र उक्त एम्बुलेन्स प्रयोग गरेवापतको खर्च संक्रमित कसैले पनि बेहोर्नु पर्दैन । एम्बुलेन्स चालकलाई भत्ता, आवश्यक पीपीई तथा इन्धन लगायत गरेर दैनिक १२ हजार रुपैयाँभन्दा बढी खर्च भइरहेको र त्यो सबै आफैले बेहोर्दै आएको जानकारी कार्कीले दिनु भयो ।

एम्बुलेन्सले एक दिनमा १६ जनाभन्दा बढी संक्रमितलाई उपचारका लागि अस्पताल लैजाने काम गरिरहेको छ । त्योबाहेक निको हुनेलाई घरसम्म पुर्याउने काम पनि गर्दै आएको छ । महामारीका बेला गम्भीर अवस्थाका संक्रमितले अस्पतालसम्म पुग्ने एम्बुलेन्स पनि नपाएर छटपटाइरहेको तथा मृत्युवरण गरिरहेको पीडा सहन नसकेर निजी खर्चमा एम्बुलेन्सको व्यवस्था गरिदिएको कार्कीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button