Tune to BFM 91.2|Biratnagar

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

विराटनगर, ६ वैशाख । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी आज काठमाण्डौ टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएकी भियतनामी साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए ।

उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button