Tune to BFM 91.2|Biratnagar

धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने

विराटनगर, १२ कात्तिक । कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने भएका छन । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिका’मा किसानलाई पैसा नतिरेसम्म सहकारीले अनुदान नपाउने व्यवस्था गरिएको छ ।

कृषकबाट धान खरिद गरेको १५ दिनभित्रै भुक्तानी गरिसक्नु पर्ने निर्देशिकामा उल्लेख छ । आफूले किनेको धानको परिमाण र किसानलाई बैंक खातामा पैसा पठाएको विवरण सम्बन्धित कृषि कार्यालयमा बुझाएपछि मात्रै परियोजना कार्यान्वयन इकाईले सहकारीको बैंक खातामा अनुदान जम्मा गरिदिने छ । निर्देशिका अनुसार गत जेठमा सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्यमा धान किन्ने सहकारीले सरकारबाट अनुदान पाउने छन ।

खरिद गरेको धानको भण्डारण, प्रशोधन र बिक्रीको जिम्मा सहकारीकै हुने निर्देशिकामा जनाइएको छ । किसानसंग धान किन्ने सहकारीले अब सरकारबाट प्रतिक्वीन्टल ११२ रुपैयाँ अनुदान पाउने छन् । कृषकको धान भकारीमा नर्पुयाउँदै धान खरिदका लागि पारित भएको निर्देशिकालाई कृषि तथा पुशपन्छी विकास मन्त्रालयले कृषि विकासमा कोषे ढुंगा भनेको छ ।

खरिद प्रक्रियामा सहभागी हुन सम्बन्धित परियोजना कार्यान्वयन इकाईले धान खरिद सिजन अगावै सुचीकृत हुन सहकारीलाई १५ दिने सूचनामार्फत अह्वान गर्नुपर्नेछ । त्यसपछि आवेदनकर्ताहरूका आधारमा कृषकका धान खरिद गर्ने गरी परियोजना कार्यान्वयन इकाइले खरिदकर्तालाई कार्यक्षेत्र तोकेरै धान किन्ने जानकारी गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button