Tune to BFM 91.2|Biratnagar

धार्मिक स्थलमा बढाइयो निगरानी

विराटनगर, १० वैशाख । जमघट धेरै र विभिन्न शंकास्पद गतिविधी हुने गरेको पाइएपछि मस्जिद लगायत मोरङमा रहेका धार्मिक स्थलहरुमा प्रहरीले निगरानी बढाएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले ‘लकडाउन’ जारी राखेका बेला विभिन्न धर्मावलम्बीका धार्मिक स्थलहरु मस्जिद, चर्च, मन्दिर र गुम्बाहरुमा भीडभाड हुने गरेको पाइएको छ ।

प्रहरीकाअनुसार सबै धार्मिक स्थललाई सुरक्षा घेरामा राखेर निगरानी बढाउँदै त्यहाँ हुने गरेका गतिविधीमा रोक लगाइएको छ । मोरङमा ८९ वटा मस्जिद, ५३ वटा मदर्शा, एक सय तीनवटा चर्च, दुई सय ५३ वटा मन्दिर र २७ वटा गुम्बा रहेका छन् । ‘लकडाउन’का समयमा समेत सबै धार्मिक स्थलमा अनआवश्यक जमघट हुने गरेको प्रहरीको विश्लेषण छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा लुकेर बसेकामा कोरोनाको संक्रमण देखिएपछि प्रहरीले आफ्नो कारबाहीलाई धार्मिक स्थल केन्द्रीत गरेको हो । संक्रमितहरु गत मंसिर २५ गते विराटनगरको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेको र मोरङका मस्जिदहरुमा पनि केही समय विताएको खुलेपछि स्थानीय प्रशासनसँग समन्वय गर्दै प्रहरीले धार्मिक स्थलहरुमा भइरहेका र हुने सबै गतिविधीमा रोक लगाएको छ ।

अनुगमनका क्रममा मोरङको सुनवर्षी नगरपालिका–९ स्थित मस्दिजमा नौ जना पाकिस्तानी नागरिक फेला परेका थिए । इस्लाम धर्म प्रचारका लागि भनेर नेपाल छिरेका ६० वर्षमाथिका उनीहरु चैत १० गते सुनवर्षी पुगेका थिए । यता धनलपालथान गाउँपालिका– ७ स्थित मस्जिदमा पनि भारतको आगराबाट फागुन १२ गते आइपुगेका १० जना भारतीय नागरिक रहेका छन् ।

पाकिस्तानी र भारतीय नागरिकलाई बाहिर हिँडडुल, भेटघाट, धर्मको प्रचार एवं धार्मिक गतिविधी गर्न र आफ्नो मुलुक फर्कन तत्काललाई रोक लगाउँदै मस्जिदमै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताउनु भयो । परीक्षणबाट उनीहरुमा कोराना संक्रमण भने ‘नेगेटिभ’ देखिएको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ‘लकडाउन’ का समयमा पनि भेला जम्मा हुने क्रम नरोकिएपछि धार्मिक स्थलमा निगरानी बढाइएको जानकारी दिनु भयो । कोरोना संक्रमण फैलन नदिन बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिरहे पनि क्वारेन्टाइनबाट छलिँदै विभिन्न मस्जिद लगायत धार्मिक स्थलहरुमा लुकेर बस्दै गतिविधी गर्ने गरेको पाइएको जानकारी उहाँले दिनु भयो ।

मोरङमा विभिन्न मुलुकबाट आएका मध्ये हालसम्म ९७ जनालाई फेला पारेर क्वारेन्टाइनमा पठाइएको एसपी अधिकारीले बताउनु भयो । ‘बाहिरबाट नेपाल आए पनि क्वारेन्टाइनमा नबसिकन मस्जिद लगायत धार्मिक स्थल, घर र सीमा क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेर सबै जनालाई क्वारेन्टाइनमा पठाएको हो,’ उहाँले भन्नु भयो , ‘यसरी लुकिछिपी बस्दा संक्रमण फैलने खतरा भएका कारण क्वारेन्टाइनमा पठाउन प्रहरीले सक्रियता बढाएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button