नदीमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

0
256

विराटनगर, २८ असार । निरन्तरको वर्षासँगै नदीमा पानीको बहाव बढेपछि धनुषा, सुनसरी, सप्तरी, सिन्धुली र सिराहा जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सप्तकोसी नदीले सुनसरीको चतरामा आज बिहानैबाट जल सतह पार गरेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै सिन्धुली, सिराहा र धनुषाको तटीय क्षेत्रमापनि जोखिम वढेको छ । मध्य, पूर्व र पश्चिमी क्षेत्रमा न्यूनचापिय रेखा सक्रिय रहेकाले पहाडी र तराईका अधिकांश स्थानमा भारी वर्षा जारी रहने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । यसैबीच प्रदेश १ का विभिन्न जिल्लामा बाढीपहिरोका कारण ९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक–एक गरी ९ जनाको मृत्यु भएको हो ।धनकुटा, ओखलढुंगा, उदयपुर लगायत जिल्लामा पहिरोका कारण जनजीवन कष्टकर बनेको छ । साथै, तराईका झापा, सुनसरी, मोरङ लगायत जिल्लामा सयौं घर डुबानमा परेका छन् । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।धनकुटाको पाख्रिबासमा पहिरोका कारण ७ वटा घरमा क्षति पुगेको छ । उता, पाँचथरका विभिन्न स्थानमा पहिरो जाँदा जनजीवन कष्टकर छ । बाढीले बगाउँदा मिक्लाजोङ गाँउपालिकाको रविका १० वर्षीय रिदम राई बेपत्ता भएका छन । हिजोदेखि बेपत्ता बालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । वर्षाका कारण जनकपुरमा सञ्चार सेवा अबरुद्ध भएको छ भने अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । यता, विभिन्न स्थानमा पहिरो जाँदा बिपि राजमार्ग अबरुद्ध छ । यसैबीच, भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना वेपत्ता भएका छन् । आज बिहान भान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उहाका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएका हुन् ।उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीले जानकारी दिनुभयो ।‘बिहान मकै भुट्न भान्छामा छिरेलगत्तै पहिरो आएको र उनीहरुको अवस्था थाहा नभएकाले खोजी कार्य जारी रहेको डिएसपी सलामीले बताउनु भएको छ ।, ‘निरन्तर पहिरो गइरहेकाले उद्धार गर्न पनि कठिनाई भइरहेको छ ।’उद्धारका लागि मानेभन्जाङ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उहाले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here