Tune to BFM 91.2|Biratnagar

नयाँ वर्षको अवसरमा देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन

विराटनगर, १ वैशाख । आज विक्रम संवत २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत शुरु भएको हो । यसैबिच नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । देशवासीलाई नयाँ वर्षको शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नु भएको छ ।वर्ष २०७७ साल कोरोना महामारीका साथै राजनीतिक अस्वस्थताले धुमिल भएको प्रधानमन्त्रीको भनाइ छ । उहाँले मेलम्चीको पानी काठमाडौंमा ल्याउन सफल हुनुलाई अघिल्लो वर्षको मूख्य उपलब्धीको रुपमा चित्रण गर्नु भएको छ ।

आफूहरूको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको प्रधानमन्त्री ओलीको दाबी छ ।कृषि उपजमा वृद्धिदर राम्रो रहेको प्रधानमन्त्रीको भनाइ छ । सरकारले संबृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक पार्न हरेक दिन साँढे ५ किलोमिटर बाटो निर्माण गरिरहेको दावी गर्नुभयो । व्यापार घाटा संतुलनतर्फ फर्काउने प्रयास जारी रहेको पनि ओलीको भनाई छ । आगमि बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा प्रधानमन्त्रीले गर्नु भएको छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताउनु भएको छ ।नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button