नागरिकता नपाएका युवाले थाले रिले अनशन

0
131

विराटनगर, २९ फागुन । उमेर पुगेर पनि लामो समयदेखि नागरिकता पाउन नसक्दा अनेकन समस्या झेल्नु परेको भन्दै विराटनगरमा नागरिकता नपाएका युवाहरुले आजबाट रिले अनशन सुरु गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तान भएकै कारण नागरिकता पाउन नसकिएको भन्दै नागरिकता पीडित संघर्ष समिति गठन गरेर युवाहरुले विराटनगर महानगरपालिकाको ‘बी’ प्लटमा अनशन थालेका हुन् । अनशनमा बसेका युवाहरुले आमाको नामबाट नागरिकता र जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिइनु पर्ने, महिला र पुरुषबीचको विभेदको अन्त्य हुनु पर्ने, सर्वोच्च र उच्च अदालतको परमादेशको पालना हुनु पर्ने लगायतका माग अघि सारेका छन् ।

नागरिकता पीडित संघर्ष समितिका संयोजक विराटनगर–६ का इशान खान, मोहम्मद तौसिफ, विराटनगर–९ का इम्तियाज अन्सारी, विराटनगर–१५ का आकाशकुमार हुलुवाई र गुड्डु सिंह अनशनमा बसेका छन् । समितिका संयोजक खानले आगामी शुक्रबारसम्ममा पनि आफूहरुको मागको कुनै सुनुवाई नभए आमरण अनशनसहितको थप संघर्ष थाल्ने बताउनु भयो । जन्मसिद्धका आधारमा २०६३ सालमा नागरिकता पाएका अभिभावकका धेरै सन्तान उमेर पुगेर पनि लामो समयदेखि नागरिकता विहीन बन्नु परेको खानले बताउनु भयो । नागरिकताकै कारण उच्च शिक्षा र रोजगारीको अवसरबाट बन्चित भई धेरै युवाको भविष्य नै अन्धकारमा परिरहेको गुनासो गर्नु भयो । २०४६ साल अघि जन्मिएका जुनसुकै नेपाली नागरिकलाई २०६३ सालमा जन्मका आधारमा नागरिकता दिइएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नागरिकका विधेयक २०७५ संसदमा पेश भइसकेका कारण पारित भएर आएपछि नागरिकता सम्बन्धी सबै समस्याको हल हुन सक्ने बताउनु भयो । ऐन नबनेसम्म नागरिकता सम्बन्धी जटिलताको समाधान हुन गाह्रो पर्ने प्रजिअ केसीको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here