Tune to BFM 91.2|Biratnagar

नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

विराटनगर ३ असार । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।

नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच सहममति जुटाउन गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि समितिले पाँचदिनको समय दिएको हो ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्षयता यो विधेयक रोकिएको छ । समितिमा हिजोबाट पुनः सुरु भएको छलफलमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाइ ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव पेश भएको थियो ।

जसमा नेपाली कांग्रेसका सांसदहरुले थप छलफल गर्न समय मागेपछि बैठक आजका लागि सारिएको थियो । सांसदहरुबीच सहमति जुटन नसकेपछि गृहमन्त्री थापाले राजनीतिक तहमा सहमति जुटाउन समय माग्नुभएको थियो । समिति सभापति शशी श्रेष्ठले चालु अधिवेशनबाट नै विधेयक पास गर्नका लागि जसरी भए पनि पाँचदिनभित्रमा सहमति जुटाएर आउन गृहमन्त्री थापालाई समय दिनुभएको हो ।

गृहमन्त्री रामबहादुर थापाले यसै अधिवेसनमा पठाउने गरी राजनीतिक तहमा सहमति जुटाउन समय माग्नु भएको थियो । बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकताको विषयमा उच्च राजनीतिक नेतृत्वबीच नै सहमतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले अंगीकृत नागरिकतामा संविधनले रोक लगाएका विषयभन्दा माथि गएर फेरी विधेयकले रोक लगाउँदा संवैधानिक प्रश्न उठ्ने भएकाले राजनीतिक सहमति नै आवश्यक रहेको बताउनुभयो ।

२०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयक २०७५ भदौ ५ गते देखि समितिमा विचाराधीन छ । समितिले अंगीकृत नागरिकता दिने विषयमा सहमति जुटाउन नसक्दा विधेयक रोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button