Tune to BFM 91.2|Biratnagar

नागरिक केयर सेन्टरद्धारा प्रदेश सरकारलाई कोभिड अस्पताल हस्तान्तरण

विराटनगर, ५ पुस । प्रदेश १ सरकारलाई नागरिक केयर सेन्टरले अत्याधुनिक कोभिड अस्पताल निर्माण गरि हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ परिसरमा निर्माण गरिएको कोभिड अस्पताल मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई केयर सेन्टरका संयोजक पवन सारडाले हस्तान्तरण गर्नुभयो । निर्माण शुरु भएको ४० दिनमा सम्पन्न गरि १ सय वेडका अस्पताल हस्तान्तरण गरिएको हो ।

कोभिड अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताउनु भयो । उहाँले कोराना संक्रमित जनताले अक्सिजनको अभाव र सहज उपचार उपलव्ध नहुदा अकालमै ज्यान गुमनाउनु परेकोमा दुःख व्यक्त गदै नौलो सोच र छोटो समयमा कोभिड अस्पतालको भौतिक संरचना निर्माणबाट उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

संघीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै सराहनी कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त राख्न आग्रह गर्नु भयो । उहाँले कोरोनाको जोखिम हटेपछि विशिष्टकृत अस्पतालको रुपमा प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड अस्पतालको क्षेत्रमा थप १ सय बेडको विशिष्टीकृत सेवा सहितको अस्पताल निर्माण कार्य शुरु गर्नका लागि स्विस सरकारबाट ४ करोड सहयोग उपलव्ध भएको जानकारी दिनुभयो । उहाँले कोभिय अस्पताल परिसरमा फोहर व्यवस्थापन, वाटर ट्रिटमेन्ट, र अक्सिजन प्लान्ट निर्माण गरिने बताउनुभयो । मन्त्री घिमिरले कोभिड अस्पताल परिसरमा चाँडै १ सय वेड तयार गरिने बताउनुभयो ।

प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले कोभिड अस्पतालको निर्माणसँगै नागरिकलाई सहज उपचार सेवा उपलव्ध हुने विश्वास व्यक्त गर्नु भयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संक्रमित नागरिकको उपचारको समस्याका कारण नीजि क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोच अनुसार अस्पताल निर्माण भएको बताउनुभयो ।

कार्यक्रममा नागरिक केयर सेन्टरका संयोजक पवन सारडा, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दवहादुर कार्की लगायतले बोल्नु भएको थियो । प्रदेश सरकारको १ करोड, विराटनगर महानगरपालिकाको २५ लाख सहित ८ करोडमा अस्पताल निर्माण गरिएको नागरिक केयर सेन्टरका कोषाध्यक्ष महेश जाजुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button