Tune to BFM 91.2|Biratnagar

नागरिक समाजद्धारा प्रतिनिधिसभा विघठनको विरोध

विराटनगर, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदेश १ मा नागरिक तहबाट नै विरोध सुरु भएको छ । विराटनगरमा आज प्रबुद्ध नागरिक समाजको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले प्रधानमन्त्रीले मुलुकलाई अनिश्चित यात्रामा अग्रसर तुल्याएका कारण यसको संगठित प्रतिरोध गर्नुपर्ने बताए ।

अर्थविद प्रमोदकुमार झाले प्रधानमन्त्रीको कदमले मुलुकलाई आर्थिक टाट पल्टाइतिर लैजाने ठोकुवा गर्नुभयोे । कोरोना कहरले थिलथिलो पारेको अर्थतन्त्रलाई प्रधानमन्त्रीको कदमले थप प्रहार गरेको झाको भनाइ छ । वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नै नभएको बताउनुभयो । नागरिक तहबाट पनि प्रधानमन्त्रीको गलत कदमको प्रतिरोध हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता रामरिझन यादवले मधेस आन्दोलनताका नै आफुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिक्रियावादी’ भनेको स्मरण गर्दै अहिले त्यो प्रमाणित भएको दाबी गर्नुभयोे । प्राध्यापक डा.उद्धव पोखरेलले मुलुकले भोगेको विषय र प्रभाव के छ भन्ने नबुझी गरिएको कदम भयबह भएको बताउनुभयो । उहाँले कोभिडपछि आर्थिक क्षेत्रमा ठूलो असर असर गरेको भन्दै चुनाव नै हुदैन, ओली सरकार रहिरहन्छ वा संकटकाल लाग्छ भन्ने आशंका पनि जनतामा व्याप्त रहेको चर्चा गर्नुभयोे ।

कानुन व्यवसायी हरि बरालले संविधानको धारा ७६ सरकार गठन प्रक्रिया उल्लेख भएको बताउंदै एक दलले नसके दुई वा सोभन्दा बढी दलले सरकार बनाउन प्रस्ताव पेश गर्ने र बहुमत पाए सरकारको नेतृत्व लिने प्रावधान भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहका नेता महेश रेग्मी, नेपाली कांग्रेस मोरङका पूर्वसचिव यदु विष्ट, बुद्धिवशजीवी रामरिझन यादव, कानुन व्यवसायी उमेशचन्द्र न्यौपाने, प्राध्यापक गणेश क्षेत्री, कविराज न्यौपाने, अधिकारकर्मी सोमराज थापालगायतले संसद पुनस्र्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button