नाम र राजधानी प्रस्तावका विषयमा किचलो

0
121

विराटनगर, १६ फागुन । प्रदेश १ मा नाम र राजधानी प्रस्तावका विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच किचलो उत्पन्न भएको छ । प्रदेशसभामा नाम र राजधानी कसले प्रस्ताव गर्ने भन्ने विषयमा विपक्षी कांग्रेस र सत्ता पक्षका सांसदबीच कुरा बाझिएसँगै किचलो सुरु भएको हो । सत्ता पक्षका सांसदको प्रस्तावमा कांग्रेस सांसदले फरक मत राखेका छन् । प्रदेश–१ को प्रदेशसभा नियमावली संशोधन गर्न गठित समितिको एउटा प्रस्तावमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले असहमति जनाएका हुन् । असहमति जनाउँदै कांग्रेस सांसदले ‘नोट अफ डिसेन्ट’ जनाइरहँदा विपक्षी संघीय समाजवादी फोरमले भने नियमावली संशोधनका लागि प्रस्ताव गरिएका विषयमा समर्थन जनाएको छ । १५ दिन भित्र प्रतिवेदन पेश गर्न समय दिंदै प्रदेशसभाले नियमावली संशोधन गर्न नेकपाका सांसद तुलसीप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । समितिमा नेकपाबाट राजकुमार ओझा, कुसुम श्रेष्ठ र लक्ष्मण तिवारी, नेपाली कांग्रेसबाट प्रमुख सचेतक केदार कार्की, लीला सुब्बा र संघीय समाजवादी फोरमबाट जयराम यादव सदस्य हुनुहुन्छ । सरकारले नै सदनमा नाम र राजधानीको प्रस्ताव ल्याउने दफा राखिनुपर्ने प्रस्ताव कांग्रेस सांसदको रहेको थियो । तर सहमति नभएपछि ‘नोट अफ डिसेन्ट’ लेखिएको सांसदहरुले जनाएका छन् । नियमावली संशोधन समितिले प्रतिवेदन बनाएर सदनमा लग्ने तयारी गरिरहँदा अहिलेको नियमावलीमा संसदमा नाम र राजधानी प्रवेश गराउने व्यवस्था नभएको कांग्रेसका प्रमुख सचेत केदार कार्कीले बताउनु भयो । उहाँले नाम र राजधानीको विषयमा बढी विवाद उठेकोले सरकारले आफ्नो टाउकोमा अपसज नलिनका लागि कुनै एक सदस्यले प्रस्ताव गरे हुने भन्ने प्राब्धान राख्न लागेको भन्दै असहमति जनाउनु भयो । सत्ता पक्षीय सांसदले भने कुनै एक सदस्यले प्रस्ताव लगे पनि हुने र सरकारले नै प्रस्ताव लैजान आवश्यक नपर्ने जनाउँदै आएका छन् । फोरम संसदीय दलका नेता समेत रहेका जयराम यादवले सत्ता पक्षीय कुनै एक सांसदले प्रस्ताव ल्याउँदा फरक नपर्ने भएकाले आफ्नो पार्टीले समर्थन गरेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here