Tune to BFM 91.2|Biratnagar

निजी र सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याउन माग

विराटनगर, २६ वैशाख । नेपाली कांग्रेस संसदीय दलले प्रदेश १ भरिका निजी तथा सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याउन माग गरेको छ । आज विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलले यस्तो माग गरेको हो । दलले सरकारी नितिका कारण संक्रमितहरु अस्पतालै नपुगी ज्यान गुमाउन बाध्य रहेको अवस्थालाई दृष्टिगत गर्दै प्रदेशमा भरपर्दो उपचार व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारको संवेदनहीनताका कारण प्रदेशमा कोरोना संक्रमणको दर उच्च भएको भन्दै उपचारको यथोचित प्रबन्ध मिलाउनुपर्ने बिषयमा जोड दिनुभयो ।

हाल सरकारले प्रदेशका ६ ठुला अस्पतालहरुमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । तर धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा सरकारले १५० बेडको झुठो प्रचार गरि ३० मात्र सञ्चालन ल्याएको संसदीय दलका प्रमुख सचेतक कार्कीको आरोप छ । अहिले प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि संक्रमितहरुले भरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

सरकारले समयमै आफ्नो दायित्व बोध नगर्दा प्रदेशमा कोरोना संक्रमणले भयावह रुप लिएको दलका प्रमुख सचेतक कार्कीको भनाई छ । कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै उहाँले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताउनुभयो । संघीय सरकार अपराधी, तस्कर र बिचौलियाहरुको जालोमा रहेको संसदीय दलको आशङ्का छ । यस्तो अवस्थामा प्रदेश सरकार पनि संघीय सरकारको लाचार छायाँ बनेर बसेको नेपाली कांग्रेस संसदीय दलको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button