निर्वाचन प्रणालीको विरोधमा पूर्व सांसदहरु

0
156

विराटनगर, २० फागुन । पूर्व सांसदहरु विद्यमान निर्वाचन प्रणालीको विरोधमा देखिएका छन् । यसले मुलुकमा भ्रष्टाचार र अनियमितता बढाएको उनीहरुको ठहर छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरु आवद्ध रहेको संस्था पूर्व सांसद मञ्चले अहिलेको निर्वाचन प्रणालीमा असहमति जनाएको हो । संसदको परामर्शद दातृ अंगका रुपमा रहेको मञ्चले निर्वाचन प्रणालीलाई परिमार्जन र सुधार गर्नु पर्ने खाँचो रहेको औंल्याएको छ । मञ्चका उपाध्यक्ष एवं पूर्व सांसद घनेन्द्र बस्नेतले निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरिरहेको बताउनु भयो । उहाँले आर्थिक विकृति र विसंगति नियन्त्रण, मुलुकमा विभिन्न काल खण्डमा भएका राजनैतिक परिवर्तनबाट प्राप्त उपलब्धीको रक्षा, नेपाली जनताका परिवर्तन र उत्थानका चाहना, जनताको बलिदानी र संघर्षको उपलब्धीको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत एवं संविधान र संघीयता कार्यान्वयनको बाधक निर्वाचन प्रणाली रहेको ठहर गरिएको बताउनु भयो । प्रत्यक्ष र समानुपातिक भनेर ‘मिक्स’ गरिएको दुई खाले निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको बताउँदै बस्नेतले यसको पीडा जनताले खेप्नु परेको बताउनु भयो । उहाँका अनुसार निर्वाचनमा लाखौं र करोडौं खर्च गर्ने प्रवृत्ति मुलुकका लागि घातक रहेको छ । बस्नेतले चुनाव जित्नेले जनताका काम गर्न नसक्नु, चुनावमा गरिएको धेरै खर्च उठाउनु पर्ने अवस्था आउनु, जनताका चाहना र इच्छा विपरितका कामहरु हुनुमा निर्वाचन प्रणाली मुख्य कारण रहेको बताउनु भयो । पूर्व सांसद एवं मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले निर्वाचन प्रणालीले नीतिगत भ्रष्टाचारको आधार खडा गरिदिएको बताउनु भयो । अधिकारीले निर्वाचन प्रणालीलाई नै फेरबदल र परिवर्तन गरिएमा मात्रै भ्रष्टाचारी सोंच र नीतिगत रुपमा हुने त्रुटि एवं अनियमितताको अन्त्य हुने बताउनु भयो । अधिकारीले मञ्चले मुलुकका सातवटै प्रदेशमा विद्यमान निर्वाचन प्रणाली, समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन भइरहेका प्रयासहरु र संविधान कार्यान्वयनका सम्बन्धमा गरिएका कामहरु एवं लोकतन्त्रको सुदृढीकरणका विषयमा जनसुझाव लिने अभियान चलाएको जानकारी दिनु भयो । यसै अभियान अन्तर्गत प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा पनि यही चैत २ गते प्रदेश स्तरीय विशेष कार्यक्रम गरिने उहाँको भनाइ छ । विभिन्न सरोकारावालाहरुसँग गरिएको छलफलबाट मुुलुकमा समानुपातिक निर्वाचन प्रणाली नै भ्रष्टाचार अन्त्यको उत्तम विकल्प भएको सुझाव प्राप्त भएको मञ्चले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here