नेकपाको बृहत राजनैतिक प्रशिक्षणः वैचारिक पार्टी निर्माणमा विशेष जोड
भोजपुर, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बृहत राजनैतिक प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । भोजपुरको अरुण गाउँपालिका वडा नं ५ याकु वडा पार्टीको विशेष आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
विगत लामो समय यता पार्टीले कुनै पनि प्रशिक्षण कार्यक्रमहरु कार्यकर्ता तहमा गर्न नसक्दा राजनैतिक तथा वैचारिक समस्याहरु बढ्दै गइरहेका छन् । यस्तो जटिल तथा गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै राजनैतिक तथा वैचारिक रुपमा एकताबद्ध गर्ने साथै विचार र दृष्टिकोण सहितको कार्यकर्ता निर्माणमा यो प्रशिक्षण कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य तथा जिल्ला पार्टी सचिव विमल खड्काले विश्व कम्युनिष्ट आन्दोलन तथा यसका मार्गदर्शक सिद्धान्त र वैज्ञानिक समाजवादबारे प्रशिक्षार्थीहरुलाई स्पष्ट पारे। उनले भने, ुसाझा बुझाई र साझा दृष्टिकोण सहितको कार्यकर्ता निर्माण गर्नु नेता, नेतृत्व र पार्टीको प्रमुख दायित्व हो । तर पार्टीमा कहिलेकाहीँ व्यक्तिवादी चरित्रहरु पनि हाबी हुने जस्तो देखिएता पनि हामी कम्युनिष्ट पार्टीका असल कार्यकर्ता भएकाले पनि पार्टीको सहि नीति, विधि, विचार र सिद्धान्तलाई भुल्न हुँदैन ।
पार्टीका जिल्ला सचिवालय सदस्य तथा अरुण गा.पा सह इन्चार्ज बबिन्द्र रसाईलीले नेता,नेतृत्व र यसका नैतिक चुनौती एवम् हाम्रो समाजबारे बोल्दै समृद्ध समाजको परिकल्पना गरिरहेको र त्यसलाई सार्थक निष्कर्षमा र्पुयाउनका लागि असल नेता र नेतृत्वको खाँचो भएको बताए । उनले स्पष्ट विचार, दृष्टिकोण, निडर र दृढ इच्छाशक्ति भएको नेता हनु पर्ने उल्लेख गर्दै नेता भुगोल सुहाउँदो, समय सापेक्ष चल्न सक्ने, गतिशील र आफैँमा इमानदार भएमा मात्रै पार्टीले परिकल्पना गरेको लक्ष्य हासिल गर्न सक्नेमा जोड दिए।
त्यस्तै जिल्ला पार्टी सचिवालय सदस्य तथा अरुण पार्टी अध्यक्ष बलभद्र राईले नेकपाको विद्यमान अवस्था, नीति कार्यक्रम तथा नेपाली जनताको वर्गीय धरातलबारे बोल्दै ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । अरुण गा.पा पार्टीले करिब ९०५ पार्टीको प्राबिधिक तथा साङ्गठानिक कार्यहरु सम्पन्न गरिसकेकोले बाँकि कामलाई निरन्तरता दिँदै अब राजनैतिक, वैचारिक तथा सैद्धान्तिक पाटोलाई तिब्रता दिएर जानू पर्नेमा उनले जोड दिए।
उनले भने, पछिल्लो समय ढाँट छल, पैसा, योजना बजेट र विभिन्न किसिमका सर्तहरु साथै निहित स्वार्थका आधारमा पार्टी निर्माण गर्ने गलत परिपाटीको विकास भएकाले पनि नेता ,नेतृत्व र पार्टी स्खलित बन्दै गएको छ। यस्तो खराब थिति तथा परम्परालाई तोडेर नीति, विधि, सिद्धान्त र राजनैतिक, वैचारिक आधारमा पार्टी संगठनलाई निर्माण गर्नु पर्छ ।
त्यस्तै संगठन निर्माण र सञ्चालन पद्धति बारे बोल्दै जिल्ला कमिटी सदस्य तथा अरुण पार्टी सचिव नारायण घिमिरेले पार्टी संगठनलाई लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा सञ्चालन गर्नु पर्नेमा जोड दिए । उनले लेनिनवादी सिद्धान्तलाई अंगिकार गर्न नसके पार्टी, संगठन, नेता तथा कार्यकर्ताहरु लगाम बिनाको घोडा जस्तो हुने बताए ।
सो कार्यक्रममा बोल्दै अर्का जिल्ला कमिटी सदस्य भक्त बहादुर राईले नेपाली कम्युनिष्ट आन्दोलन बारे प्रशिक्षार्थीहरुलाई स्पष्ट पारे। त्यसै गरी जिल्ला कमिटी सदस्य तथा अरुण गा.पा. पार्टी ५ र ७ का इन्चार्ज कुमार थापाले कम्युनिष्ट पार्टीमा जनवर्गीय संगठनहरुको विस्तार र महत्त्व बारे बोल्दै कम्युनिष्ट पार्टीमा जनवर्गीय संगठनहरुको ज्यादै ठूलो महत्त्व रहेको स्पष्ट पारे । उनले पार्टीको नीति ,विधि ,विचार र सिद्धान्तको रक्षाका लागि जातीय, धार्मिक , लैङ्गिक, पेशागत अधिकार तथा सबैको समान हक र अधिकारको सुनिश्चित गर्दै सामाजिक समावेशीकरण जस्ता गम्भीर मुद्दाहरुलाई सार्थक निष्कर्षमा पुर्याउन एवम् पार्टी संगठनलाई मजबुत तथा धारिलो बनाई राख्न जरुरी रहेको कुरा बताए। उनले यदि जनवर्गीय संगठनहरु नहुने हो र भएकाहरु पनि क्रियाशील नहुने हो भने पार्टी लङ्गडो हुने ग्यारेन्टी गर्दै पार्टीको नीति ,विधि ,विचार र सिद्धान्तका आधारमा ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी , देश र जनताको हितमा हुने गरि जनवर्गीय संगठनहरुको विस्तार र क्रियाशीलतामा विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
वडा पार्टी सचिव श्याम कुमार तामाङको सञ्चालन र वडा पार्टी अध्यक्ष निरनकुमार राईको अध्यक्षतामा भएको उक्त राजनैतिक प्रशिक्षण कार्यक्रममा जिल्ला, गाउँपालिका र वडा पार्टी कमिटीका जिम्मेवार कमरेडहरुको उल्लेख्य सहभागिता रहेको थियो ।