Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

विराटनगर, १९ असार । कोरोना भाइरस (कोभिड—१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक नीजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी रहेको बताउनुभयो ।

छाति दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार ७ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो । प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । आज ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरंग र उदयपुरमा ५/५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरंगको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १/१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट आज २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन । आज डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् । मोरंगबाट १२, सुनसरीबाट ५ र उदयपुरबाट ४ जना डिस्चार्ज भएका हुन ।

विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालक देखि ४८ वर्ष सम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु जेठ २७ देखि असार १२ गते सम्म भर्ना भएकाहरु हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button