Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

विराटनगर, २ साउन । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मधुमेह र मुटुको दिर्घरोगी ति वृद्ध असार ३१ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उनी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ स्थानीय हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । अहिले ५ हजार ८ सय ७१ जना देशका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज १ सय १ जना नयाँ संक्रमित थपिँदा २ सय ८५ जना डिस्चार्ज भएका छन् । आजसम्म नेपालमा १७ हजार ४ सय ४५ कोरोना संक्रमित मध्ये ११ हजार ५ सय ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पीसीआर विधिबाट आज ४ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख ३ हजार ८ सय १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । क्वारेन्टाइनहरुमा २२ हजार ७ सय ५६ जना रहेका छन् । प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ७ सय ७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button