Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

विराटनगर, १२ जेठ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बृद्धको परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । मृतक वृद्धको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । श्वास–प्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको ३ गते स्वाब संकलन गरी नारायणी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

यसअघि धुलिखेल अस्पतालमा सुत्केरी महिला, बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा एक पुरुष र क्रिमसन अस्पतालमा उपचाररत पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । आज मात्रै ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयको पछिल्लो विवरणअुनसार सेती प्रदेशिक अस्पतालको प्रयोशालामा भएको परीक्षणमा अछामका ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीन जनामा पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालमा पर्सा र काठमाडौंका १/१ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ को ७ जिल्लामा ८६, प्रदेश नम्बर २ का ८ जिल्लामा २ सय ३५ र बागमती प्रदेशका ११ जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५, प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ९२, कर्णाली प्रदेशका २ जिल्लामा ११ जना र सुदूरपश्चिमका ५ जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय १२ पुगेको छ ।

आजसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button