Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

विराटनगर १ बैशाख । नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न ।

ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुईदुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।

देशभरि करिब ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो ।

५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । र्यापिड कीटबाट ५२ जिल्लामा परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो कीट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ । परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरि १ सय ३ जना लाइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button