Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो

विराटनगर, २३ जेठ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९ सय १२ पुगेको छ । पछिल्लो २४ घन्टामा २ सय ७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो ।

थपिएकामा ११ जना महिला हुन् । कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३३३ जना पुगेको छ । जसमा महिला ६१ जना छन् । शुक्रबार ४० जना डिस्चार्ज भएका छन् ।

सबैभन्दा बढी कोशी अञ्चल अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु ६ देखि ११औं दिनको अवधिमा डिस्चार्ज भएका डा. देवकोटाले बताउनुभयो । हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’मा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् । दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’मा रहेका उहाँले जानकारी दिनुभयो ।

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापामा ११ जना, मोरङमा ६ जना, सुनसरीमा १७ जना, भोजपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङका संक्रमित सबै रतुवामाई नगरपालिकाका हुन् ।

सुनसरीमा भोक्राहा नरसिंह गाउँपालिकामा १२, बर्जु गाउँपालिकामा ३, धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा १÷१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । बराहक्षेत्रमा संक्रमित व्यक्ति ७ वर्षका बालक हुन् ।

विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । आज ३९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ४० पुगेको छ । प्रदेश १ बाट ७८ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button