Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

विराटनगर, २६ जेठ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताउनुभयो ।

यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । यस्तै कोरोना संक्रमणको पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । जस मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

हालसम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

आज देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन भने आइसेलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् । प्रदेश नंं. १ मा आज थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका २० सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ । आज मोरङमा ९, झापाका १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २–२ जना र धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ । प्रदेश १ मा संक्रमित देखिएकामध्ये ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button