Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुग्यो

विराटनगर, २६ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १ सय २ पुगेको बताएको छ । नेपालगन्जको प्रयोगशाालमा परीक्षण गर्दा थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

उनी १६ वर्षीय पुरुष रहेको मन्त्रालयले जानकारी दिएको हो । आज मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटा अनुसार कोशी प्रादेशिक अञ्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका छन् ।

५ जना १७ औँ दिनको उपचारपछि र ३ जना १६ औँ दिनपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ । त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ । यद्यपि निको भएर फर्किएका ३ जनामा पुनः कोरोना पोजिटिभ देखिएकाले उपचारमा छन् ।

दुईजना नारायणी अस्पतालमा र १ जना पाटन अस्पतालमा उपचाररत छन् । आजसम्म नेपालमा आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १५ हजार ४ सय ९२ परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ । हालसम्म आइसोलेसनमा देशभरि १३५ जना रहेका छन् ।

काठमाडौंमा ३ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । क्वारेन्टाइनमा १५ हजार ६ सय २४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button