नेपालमा कोरोना संक्रमितको संख्या १२० पुग्यो
काठमाडौँ २९ वैशाख । नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो ।
आज संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ५, र बुद्धभूमि नगरपालिका ७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।
हालसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २ ÷२ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै भोजपुर, सर्लाही, रुपन्देही र कञ्चनपुरमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् ।