नेपालमा संक्रमितको संख्या ४ सय २ पुग्यो
विराटनगर, ६ जेठ । काठमाडौं उपत्यकामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापामा ९,काठमाडौंमा ३,सर्लाही २, मोरङ, सुनसरी, भक्तपुर , मकवानपुर , रामेछाप , ललितपुर, नवलपरासी र सिन्धुलीमा एक एक तथा कपिलवस्तुमा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ । अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । यस्तै गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन् ।
प्रवक्ता विकास देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार ४ सय ७३, प्रदेश नम्बर २ मा ९ हजार २ सय १६, बागमती प्रदेशमा १३ हजार १ सय ९७ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ५७ जनाको आरडिटी परीक्षण भएको छ ।
यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ५३, कर्णाली प्रदेशमा ७ हजार ५ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण भएको छ । उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । प्रदेश १ मा आज ११ जना कोभिड १९ का संक्रमित थपिएका छन ।
झापाका ९ जना, सुनसरीका १ जना र मोरंगमा १ मा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । त्यसमध्ये १८ जना उपचारपछि घर फर्केका छन । झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ । कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो ।
सुनसरीका १ र मोरंगमा १ जनाको धरानमा परीक्षण गरिएको थियो । प्रदेश १ मा ७ जिल्लामा संक्रमित देखिएका छन् । उदयपुरमा ३३, झापामा १२, मोरंगमा ४, सुनसरीमा २, खोटाङमा १, धनकुुटामा १ र भोजपुरमा १ जना संक्रमित देखिएका हुन । संक्रमित मध्ये १८ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा उदयपुरका १५, झापाका २ र भोजपुरका १ जना छन् । डिस्चार्ज भएका ७ जना भारतीय नागरिक हुन । उनीहरूलाई उदयपुरमा संक्रमण देखिएको थियो ।