Tune to BFM 91.2|Biratnagar

नेपाल आएका नौ पाकिस्तानी क्वारेन्टाइनमा

विराटनगर, २२ चैत । पाकिस्तानबाट नेपाल आएका नौ जना पाकिस्तानी नागरिकलाई मोरङको सुनवर्षी नगरपालिका–९ मा क्वारेन्टाइनमा राखिएको छ । मोरङ प्रशासनको निर्देशनमा मुस्लिम समुदायका उनीहरुलाई मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएकामा जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन छन् । उनीहरु ६० वर्षमाथिका छनन् । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले ‘लकडाउन’ गरेपछि उनीहरुले बाहिर हिँडडुल, भेटघाट गर्न र आफ्नो मुलुक फर्कन पाएका छैनन् ।

‘लकडाउन’ गरिएको अघिल्लो दिन चैत १० गते उनीहरु सुनवर्षी आइपुगेको स्थानीय अगुवा एवं कांग्रेस नेता महताब आलमले बताउनु भयो ।

आलमकाअनुसार इश्लाम धर्म प्रचार गर्नुका साथै धर्मका बारेमा मुस्लिम समुदायलाई शिक्षादीक्षा दिने, सिकाउने, बुझाउने र जनचेतना जगाउने उदेश्यले सबै पाकिस्तानीहरु आएका थिए । त्यस्तै इश्लाम धर्म प्रचारका लागि भनेर भारतको आगराबाट आएका १० जना पनि फर्कन पाएका छैनन् । फागुन १२ गते आइपुगेका उनीहरुलाई पनि धनलपालथान गाउँपालिका– ७ स्थित मस्जिदमा क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएका भारतीय नागरिकमा अब्दुल रजक, मोहम्मद रासिक, कलकरान, जाबेद, हाजी ओबाबदिन, मोहम्मद बेलान, मोहम्मद अली, अब्दुल गझार, महसेन र दानिस छन् । यता भारतबाट आएर मस्जिदमा लुकेर बसेका १२ जना नेपालीलाई प्रहरीले फेला पारेर क्वारेन्टाइनमा पठाएको छ ।

धरान घर भएका उनीहरु भारतको कोलकाता हुँदै चैत ७ गते नेपाल आएका थिए । बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा बस्न सरकारले आग्रह गरेपछि उनीहरु आफ्नो घरमा नबसिकन मोरङको कटहरीस्थित मस्जिदमा लुकेर बस्दै आएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

क्वारेन्टाइनमा बस्नु पर्ने झन्झटका कारण उनीहरु घर छाडेर मस्जिदमा बस्ने गरेको पाइएको उहाँको भनाइ छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उद्धार गर्दै उनीहरुलाई टाँडीस्थित क्वारेन्टाइनमा पठाएको एसपी अधिकारीले बताउनु भयो । मोरङमा आजसम्ममा १० महिला र एक सय ४० जना पुरुष गरेर एक सय १५० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button