Tune to BFM 91.2|Biratnagar

नेपाल पत्रकार महासंघ को पदहस्तान्तरण

विराटनगर, ९ बैशाख । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन कायम राख्नका लागि पत्रकारहरुले कलम चलाउनु पर्ने बताउनु भएको छ । प्रदेश एवं जिल्ला निर्वाचन समिति मोरंगद्वारा आज विराटनगर आयोजित नेपाल पत्रकार महासंघ १ नं प्रदेश समिति एवं जिल्ला समितिका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले राज्यसत्तालाई जिम्मेवार रुपमा सञ्चालन गरी पारदर्शीता कायम गर्न सञ्चारकर्मीहरुको ठूलो भूमिका खेल्ने पर्नेमा जोड दिनुभयो ।

सभामुख भण्डारीले मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्न यसको सञ्चार जगतको ठूलो जिम्मेवारी रहने चर्चा गर्दै जनताको हक अधिकारको रक्षाका कमललाई तिखो बनाउनु पर्ने बताउनु भयो । नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता राजीव कोइरालाले अविश्वासको प्रस्ताव प्रदेशमा आवश्यक रहेकोमा जोड दिदै सरकारले ठूलो विकास निर्माणका योजनाको बजेट कटौती गरेको आरोप लगाउनु भयो । नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कलमको माध्यमबाट समाजमा रहेका कुरिति हटाई जनतामा चेतना गराउनका साथै राष्ट्र निर्माण कार्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिनु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकार भएर बाँच्न कति समस्या हुन्छ भन्ने अनुभव गरेको छु भन्दै पत्रकार उपचारका लागि स्थापना गरिने अक्षय कोषमा महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । प्रदेश सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले निर्वाचनको माध्यमवाट मुलुकमा सङ्घीयता कार्यान्वयनमा सहयोग पुगेको धारणा राख्नु भयो । प्रदेश महासङ्घका निवर्तमान अध्यक्ष विक्रम लुईटेल, प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, महासचिव विवेक गौतम, मोरंगका निवर्तमान अध्यक्ष वन्धु पोखरेल, जिल्ला अध्यक्ष सन्जिव खनाल, पत्रकारहरु शङ्कर खरेल, मोहनकाजी न्यौपाने र उद्योगी नविन रिजालले आवाज विहिनको आवाज र समाज रुपान्तरण कार्यमा सञ्चारकर्मीहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button