नेपाल फेरि उपविजेतामै सीमित, भारतसित चौथोपटक फाइनलमा स्तब्ध

0
216

विराटनगर, ८ चैत। साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपाल फेरि पनि उपविजेतामै सीमित भएको छ । आज विराटनगरको सहिद रंगशालामा भएको पाँचौं संस्करणको फाइनलमा नेपाल फेरि भारतसित पराजित भयो । नेपाल ३–१ ले पराजित भएको हो । मध्यान्तरसम्म १–१ गोलको बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो । २६औं मिनेटमा पहिलो गोल खाएको नेपालले त्यसको सात मिनेटमा सावित्रा भण्डारीको गोलमार्फत बराबरी गर्न सफल भएको थियो । खेलको ६३औं मिनेटमा गोल खाएर २–१ ले पछि परेको नेपालले ७८औं मिनेटमा तेस्रो गोल खाएपछि खेलमा फर्कन सकेन । डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले भारतलाई गोल दिलाए । सावित्राले अन्तर्राष्ट्रिय गोल संख्यालाई २६ र्पुयाउँदै पूर्वकप्तान जमुना गुरुङको २५ गोलको रेकर्ड तोडेर नेपालका तर्फबाट सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेकी छन् । पूर्वकप्तान अनु लामाको नाममा ३५ गोलको कीर्तिमान छ । सावित्रासँगै प्रतियोगितामा ४ गोल गरेकी भारतीय खेलाडी इन्दुमति संयुक्तरुपमा सर्वाधिक गोलकर्ता भए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी भारतकी डालिमा छिपर घोषित भइन् । फाइनल पुग्दासम्म १० गोल गर्दा एक गोल नखाएको नेपालले फाइनलमा ३ गोल खायो । समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले हराएको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराएको थियो । नेपाल चौथोपटक फाइनलमा भारतसित पराजित भएको हो । गत संस्करणमा भने नेपाल भारतसित सेमिफाइनलमै पराजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । महिला फुटबलमा अहिलेसम्म नेपालले भारतसँग ११ खेल खेलेकामा एक खेल जित्दा दुई बराबरी गरेको छ भने ८ खेल हारेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here