नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन

विराटनगर, ७ माघ । विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन भएको छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्स मार्फत आईसीपी उद्घाटन गर्नुभएको हो । भारतले विराटनगरको भन्सार जाँचपास सहजीकरणका लागि बनाइदिएको एकीकृत जाँच चौकी (आईसीपी) पनि मंगलबार नेपालको स्वामित्वमा आएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्ज नाकामा आधुनिक एवम् सुविधासम्पन्न आईसीपी निर्माण गर्ने सहमति भएको थियो । वीरगञ्जको आईसीपी दुई वर्षअघि नै सञ्चालनमा आइसकेको छ ।विराटनगरको बुधनगरमा २०७३ माघबाट निर्माण सुरु भएको थियो । आईसीपी दुई वर्षभित्र बनाइसक्ने लक्ष्य थियो । तर, लक्ष्यअनुसार काम नभएपछि एक वर्ष ढिला निर्माण सकिएको हो ।आईसीपी निर्माण भारतीय कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालि अहमदावादले गरेको हो । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले २०७३ को मंसिरमा नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तरण र्गयो ।नेपाल सरकारले बुधनगरमा ४१ करोड रुपैयाँमा चार सय घरपरिवारलाई मुआब्जा दिएर १६९ बिघा जमिन अधिग्रहण गरेको थियो । आईसीपी निर्माण गर्न १२९ बिघा र लिंकरोडका लागि ४० बिघा जग्गा छुट्याइएको थियो । जाँचचौकीको लिंक रोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर–दक्षिणी राजमार्गसँग जोडिँदैछ ।आईसीपी निर्माणका लागि भारतीय ठेकदार पक्षले ल्याउने सामग्री र उपकरण सबैमा भन्सार महसुल र राजस्व छुट दिइएको थियो । आइसीपीमा भन्सार, पशु क्वारेन्टाइनलगायत सीमा क्षेत्रमा हुने सरकारी सेवा एकै थलोबाट प्रदान गर्ने योजना छ ।आईसीपी हाताभित्र पाँचवटा ठूला गोदाम, दुईवटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारी आवास भवन, उपचार केन्द्र, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आईसीपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना बनेका छन् ।अब विराटनगरको रानी भन्सार कार्यालय बुधनगरमा स्थानान्तरण गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button