Tune to BFM 91.2|Biratnagar

नेवारी संस्कृति र चाडपर्वसँग सम्बन्धित पुस्तक विमोचन

विराटनगर, १५ पुस । योमरी पुन्हिको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले नेवारी संस्कृतिसँग सम्बन्धित पुस्तक विमोचन र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा गणेश बज्राचार्यको लेखन तथा सम्पादनमा प्रकाशित ‘नेवारी संस्कृति तथा चाडपर्वहरू’ नामक पुस्तकको विमोचन गरिएको हो ।

पुस्तकको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । पुस्तकभित्र नेवारी संस्कृति र संस्कारसहित चाडपर्वहरूका बारेमा जानकारीमूलक सामग्री समेटिएको लेखक बज्राचार्यले जानकारी दिनुभयो । सोही अवसरमा लेखक बज्राचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख पराजुलीले भाषा र संस्कृतिको संरक्षण गर्न नसकेका कारण मुलुकको विकास हुन नसकेको बताउनुभयो ।

उहाँले आफ्नो भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न नेवारी समुदायका व्यक्तिहरूलाई आग्रहसमेत गर्नुभयोे । कार्यक्रममा झी पुचःका कार्यबाहक अध्यक्ष हरिबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष राजन श्रेष्ठ, महासचिव शरद श्रेष्ठ, वरिष्ठ अभिवक्ता सुरेशलाल श्रेष्ठलगायतले भाषा, साहित्य र संस्कृतिले मुलुकलाई एकढिक्का बनाएर राख्न मद्दत गर्ने बताउनुभयो । झी पुचःले भाषा र संस्कृतिको संरक्षणसँगै समाजसेवाका कामसमेत गर्दै आएको उहाहरूको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button