Tune to BFM 91.2|Biratnagar

नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा राहत हस्तान्तरण

विराटनगर, ३१ वैशाख । नोना कोइराला स्मृति प्रतिष्ठानले उदयपुरका लकडाउनबाट प्रभावित विपन्न परिवारलाई राहत हस्तान्तरण गरेको छ ।

विराटनगरस्थित कोइराला निवासमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उदयपुर नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सहसभापति वसन्तकुमार बस्नेतलाई ३० क्वीन्टल चामल हस्तान्तरण गर्नुभयो ।

प्रतिष्ठानले उपलब्ध गराएको चामल त्रियुगा नगरपालिकाका छाया सरकार प्रमुखसमेत रहेका बस्नेतमार्फत विपन्न परिवार र मजदुरलाई वितरण गरिनेछ । भुल्केमा कोरोना संक्रमित भेटिएसँगै उदयपुरलाई सरकारले कोरोनाको उच्च जोखिम क्षेत्रका रुपमा राखेको छ ।

त्रियुवा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने विपन्न समुदायको पहिचान गरेर राहत वितरण गरिने बस्नेतले जानकारी दिनुभयो । बस्नेतकोे सक्रियतामा त्रियुगा नगरपालिका क्षेत्रभित्रका करिब ७ सय विपन्न परिवारलाई यसअघि पनि राहत वितरण गरिसकेको जनाइएको छ ।

प्रतिष्ठानले प्रदेश–१ मा मात्रै होइन मुलुकमा अन्य जिल्लामा पनि राहत वितरण गरिरहेको छ । सो अवसरमा नेता कोइरालाले वडास्तरमै सर्वपक्षीय संयन्त्र बनाएर राहत वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राहत वितरणलाई पारदर्शी र विवादरहित बनाउन वडास्तरमा सर्वपक्षीय संयन्त्र बनाउन सरकारसँग आग्रहसमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button