Tune to BFM 91.2|Biratnagar

नोबेलमा सस्तोमा पीसीआर परीक्षण

विराटनगर, १२ असोज । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस शंकास्पदको स्वाब परीक्षण आजबाट सुरु भएको छ ।

प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर स्वाबको पीसीआर परीक्षण गर्न थालिएको अस्पतालले जनाएको छ । विभिन्न प्रयोगशालामा स्वाबको चाप बढेर पीसीआर रिपोर्ट आउन ढिलाई भइरहेका बेला नोबेलले सस्तो मूल्यमा परीक्षण थालेको हो ।

अस्पतालका सञ्चालक डा. सुनिल शर्माले हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै मुलुकमै सस्तो मूल्यमा पीसीआर परीक्षण हुन थालेको जानकारी दिनु भयो । उहाँका अनुसार दुईवटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिनबाट स्वाबको परीक्षण थालिएको छ ।

नोबेलको प्रयोगशालाबाट दैनिक दुई हजार स्वाबको परीक्षण हुने जानकारी शर्माले दिनु भयो । नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंह चारदेखि छ घण्टाभित्रै पीसीआर परीक्षणको रिपोर्ट सम्बन्धितलाई उपलब्ध गराइने बताउनु भयो ।

यसअघि सरकारले पाँच हजार पाँच सय रुपैयाँ शुल्क तोकेको थियो । शर्मानै अध्यक्ष रहेको काठमाडौं मेडिकल कलेजले अहिले प्रति व्यक्ति एक हजार नौ सय ९९ रुपैयाँ लिएर पीसीआर परीक्षण गरिरहेको नोबेलले जनाएको छ ।

सरकारले भदौ २८ गतेबाट निजी प्रयोगशालाले बढीमा दुई हजार रुपैयाँ लिएर परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button