Tune to BFM 91.2|Biratnagar

नोबेल अस्पतालमा चिकित्सकसहित थप पाँच जनामा कोरोना

विराटनगर, ३० साउन । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत एक जना चिकित्सकसहित थप पाँच जनामा आज कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालका एक चिकित्सक, एक नर्सिङ स्टाफ, दुई जना औषधि पसलका कर्मचारी र एक जना प्रशासनका कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमित भेटिएको औषधि पसल अस्पतालभित्रै सञ्चालित छ । पाँच जना थपिएसँगै अस्पतालमा संक्रमित हुनेको संख्या नौ पुगेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले यसअघि तीन चिकित्सक र एक जना नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको बताउनु भयो ।

दुई चिकित्सकमा गत शनिबार पहिलो पटक कोरोना देखिएको थियो । उनीहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दा गत सोमबार एक चिकित्सक र एक नर्समा संक्रमण देखिएको दाहालले बताउनु भयो । उहाँअनुसार चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अस्पतालको ओपीडी (बहिरंग) विभागको सेवा बन्द गरिएको छ ।

नोबेलमा कार्यरत दुई सय २४ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराइएकोमा ७० जनाको रिपोर्ट आउन बाँकी रहेको दाहालले बताउनु भयो । अस्पतालले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीका लागि आइसोलेसन बेड बनाएको छ ।

संक्रमितमध्ये अस्पतालका एक चिकित्सकको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ती चिकित्सकको अवस्था थप जटिल बनेपछि उपचार पद्धती फेर्दै हिजो प्लाज्मा थेरापी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button