Tune to BFM 91.2|Biratnagar

न्यायाधीशमा कोरोना देखिएपछि मोरंग अदालत तीन दिन बन्द

विराटनगर, १६ साउन । न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत मोरङको काम कारबाहीआजबाट तीन दिनका लागि बन्द गरिएको छ ।

एक जना न्यायाधीशमा आज कोरोना संक्रमण पुष्टि भएका कारण अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले बताउनु भयो । उहाँकाअनुसार तीन कर्मचारी र एक न्यायाधीश गरेर चार जनाको स्वाब परीक्षण गरिएकोमा न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको हो । अरु तीन कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो ।

अदालतका सूचना अधिकारी युवराज पौडेलले आजबाट यी सबै काम कारबाही बन्द भएको र बिहीबारदेखि सूचारु हुने जानकारी दिनुभयो । उहाँका अनुसार आफूसँग सम्पर्कमा रहेका एक जना प्रहरी अधिकृतमा कोरोना देखिएपछि न्यायाधीशले पनि हिजो स्वाब परीक्षणका लागि पठाएका थिए ।

न्यायाधीशमा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका अदालतका ४० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको पौडेलले बताउनुभयो । सबै कर्मचारीको पीसीआर परीक्षण रिपोर्ट प्राप्त भइसकेपछि अदालतको काम कारबाही कसरी अघि बढाउने भन्ने निर्णय हुने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button