पटका पड्काउने तीन दर्जन बढी पक्राउ
विराटनगर ३० कार्तिक । मोरङ प्रहरीले पटका पड्काउने तीन दर्जन बढीलाई नियन्त्रणमा लिएको छ । शनिबार साँझ मोरङका विभिन्न स्थानबाट ४१ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।
सम्भावित आगजनी तथा अन्य घटना रोकथाम तथा नियन्त्रणका लागि पटका विक्रीवितरण, ओसारपसार एवम पड्काउन निरूत्साहित गरिरहेको अवस्थामा पटका, आतिसबाजी लगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएएको डिएसपी राईले बताउनुभयो ।
यसैवीच प्रहरीले विराटनगर ३ भट्टा चौकबाट पटका विक्री वितरण गर्दै आएका एक जनालाई आज विहान पक्राउ गरेको छ । सप्तरी छपकी –४ राजविराजका ३५ राधेश्याम साहले किराना पसलमा पटका विक्री गरिरहेको पाईएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले साहसँगै उनको किराना पसलबाट चकलेट बम ५ प्याकेट, झिरझिरे ५ प्याकेट, फुलझरी १२ थान, चक्रे ७ पिस र खोर्सानी बम ३८ प्याकेट नियन्त्रणमा लिएको डिएसपी राईले बताउनुभयो ।