Tune to BFM 91.2|Biratnagar

कोरोनाका कारण मोरङको पथरीका पूर्व गाविस अध्यक्षको मृत्यु

विराटनगर, ९ मंसिर । मोरङको तत्कालिन पथरी गाविस (गाउँ विकास समिति) का पूर्व अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण आज बिहान मृत्यु भएको छ । दुई साता अघिदेखि उपचाररत राईको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार बिहान ४ः३० बजेतिर राईको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा पथरीशनिश्चरे नगरपालिका–१ निवासी राईको रिपोर्ट कात्तिक २१ पोजिटिभ आएको थियो । त्यसपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि अस्पतालबाट घर आएर आराम गरिरहेको अवस्थामा पुनः श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसपछि विराट शिक्षण अस्पतालको भेन्टिलेटरमा पाँच दिनदेखि उपचाररत उनको मृत्यु भएको छोरा दीपक राईले बताउनु भयो । २०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित हुनुभएका राई पछिल्लो समय सामाजिक गतिविधीमा सक्रिय हुनुहुन्थ्यो । सामाजिक काममा लोकप्रियता हाँसिल गरिरहनुभएका उहाँ हालको पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी संस्था मनकामना सहकारीका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

पञ्चायत माविको व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका उनले दर्जनौं संघ संस्थाको नेतृत्व गरिरहनु भएको थियो ।राईका एक श्रीमती, चार छोरी र दुुई छोरा छन् । जसमध्ये दीपक नेपाली फुटबलका राष्ट्रिय खेलाडी हुन् ।

यसैबीच पथरी गाविसका पूर्व अध्यक्ष राईको निधनप्रति दुःख व्यक्त गदै पथरीशनिश्चरे नगरपालिकाले आज नगर भरी शोक विदा दिएको छ । राईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिका भरी विदा दिने निर्णय भएको हो । नगर प्रमुख दिलिपकुमार राईले नगरले एउटा असल सामाजिक अभिभावक गुमाएकोभन्दै गहिरो दुःख व्यक्त गर्दै राईप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button