Tune to BFM 91.2|Biratnagar

परिवारका १४ जनामा संक्रमण भेटिएपछि मोरङको रंगेली सिल

विराटनगर, २० साउन । कोरोना संक्रमित भेटिने क्रम बढेपछि मोरङको रंगेली नगरपालिकाका चारवटा वडा आजबाट सिल गरिएको छ ।

रंगेली मोरङको पुरानो सदरमुकाम हो । मानिस तथा सवारी साधन आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै ४, ५, ६ र ७ नम्बर वडा सिल गरिएको हो । समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन दिनलाई जोखिमयुक्त मानिएका वडाहरु सिल गरिएको नगरले जनाएको छ ।

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसाङ खोला, उत्तरमा निचामारी बक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रलाई लक्षित गरेर चारवटै वडा सिल गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले एउटै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएका कारण वडाहरु सिल गर्नु परेको जानकारी दिनु भयो ।

केही दिनअघि रंगेलीको मुख्य बजार क्षेत्रका ७३ वर्षीय वृद्धको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको थियो । उनको ब्रेनह्याम्रेजका कारण मृत्यु भएको जनाइएको थियो । तर उनको मृत्युपछि भेला जम्मा भएर दाहसंस्कारदेखि लिएर काजकिरियाका अन्य प्रक्रियामा पनि सहभागी भएका एउटै परिवारका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अधिकृत सुवेदीको भनाइ छ ।

उहाँकाअनुसार १४ जनाको रिपोर्ट हिजो पोजेटिभ आएको थियो । अहिले मृतकको घर पुग्ने तथा उनीहरुका परिवारका अन्य सदस्यहरुको पहिचान गर्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम भइरहेको जानकारी सुवेदीले दिनु भयो ।

रंगेलीमा हिजो २२ जनालाई कोरोना देखिएको थियो । ती मध्ये रंगेली–७ स्थित बजार क्षेत्रमा एउटै परिवारका १४ जना रहेको जनाइएको छ । उनीहरुको ‘ट्राभल हिस्ट्री’ भेटिएको छैन । संक्रमितमध्ये पाँचजना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीनजना रंगेली अस्पतालका कर्मचारी छन् ।

अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबारबाट रंगेली अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button