Tune to BFM 91.2|Biratnagar

पहाडी क्षेत्रमा आज धुमधामसाथ होली मनाइँदै ,सुरक्षा व्यवस्था कडा

विराटनगर, १५ चैत । होली पर्वलाई लक्षित गरेर प्रदेश १ को सुरक्षा व्यवस्था बिहानैबाट कडा पारिएको छ । नेपालमा आज पहाडी र भोलि तराई क्षेत्रमा धुमधामसाथ होली मनाइँदै छ । होलीलाई मध्यनजर गर्दै प्रदेशभित्रका १४ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार होली मनाउने नाममा कानुनविपरीत हुने सबै गतिविधीमाथि निगरानी बढाएर कडाई गरिएको छ ।

सबै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एसपी श्रेष्ठले बताउनु भयो । प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले होलीमा उसृङ्खल र अवाञ्छित गतिविधी गर्ने जोकोहीलाई पनि नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने बताउनु भयो । उहाँका अनुसार जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र इच्छाविपरीतका कार्य गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने छ । डीआईजी कार्कीले कोरोनाको जोखिम बढ्दै गएका कारण विशेष सावधानी अपनाएर र स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै होली मनाउन सबैमा आग्रह गर्नु भएको छ ।

जमघट र भिडभाड गरेर तथा समुदायमा मनाइने होलीका कारण कोरोना सङ्क्रमणको जोखिम अत्याधिक हुने भएकाले सबैलाई सावधानी अपनाउन र परिवारभित्र मात्रै होलीलाई कायम राख्न आग्रह गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार चाडपर्व मनाउने नाममा नियमविपरीत गतिविधी गर्नेहरुमाथि प्रहरीले निगरानी बढाएको छ । उचित सुरक्षा प्रवन्ध मिलाइएका कारण अहिलेसम्म प्रदेशभर कुनै पनि अप्रीय घटना हुन नपाएको डीआईजी कार्कीले बताउनु भयो । उहाँका अनुसार विभिन्न अपराधिक घटना र अवाञ्छित गतिविधी हुने शङ्कास्पद स्थानलाई प्रहरीले आफ्नो निगरानी एवं नियन्त्रणमा राखेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले होलीलाई मध्यनजर गरेर प्रदेश राजधानी विराटनगरसहित जिल्लाभरको सुरक्षा व्यवस्था मजवुत बनाइएको जानकारी दिनु भयो । उहाँका अनुसार जथाभावी र इच्छाविपरीतको गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाउने तयारी छ । मादक पदार्थ एवं नसाजन्य पदार्थको सेवनबाट हुनसक्ने सम्भावित घटना नियन्त्रण गर्नतर्फ पनि प्रहरी सचेत रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button