पाँचौं साफ महिला च्याम्पियनसिप : सेमिफाइनलका खेलहरु बुधबार हुँदै

0
115

विराटनगर, ५ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपको पाचौं संस्कण अन्र्तगत भोली सेमिफाइनलका खेलहरु हँुदैछन् । सहिद रंगशालामा हुने पहिलो सेमिफाइनलमा विहान ११ बजे श्रीलंकाले घरेलु टोली नेपालको सामना गर्ने छ । यसअघिका साफमा श्रीलंका दुई पटक अन्तिम चारमा स्थान पक्का गरेको टोली हो । नेपाल तीनपटक उपविजेता बनिसके छ । दुवै टोली साफमा हालसम्म तीनपटक आमनेसामने भएका छन् । पहिलो साफमा भेट हुन नसकेको दुवै टोलीले श्रीलंकाकै मैदानमा दोश्रो साफमा स्पर्धा गरेका थिए । सेमीफाइलनमा भिडन्त भएको खेलमा नेपाली टोली ३–० ले विजयी भएको थियो । जसमा कप्तान अनु लामा, दीपा अधिकारी र लक्ष्मी पौडेलले समान एक गोल गरेका थिए । त्यसैगरि, पाकिस्तानमा सम्पन्न तेश्रो साफमा दुवै टोली एकै समूहमा रहेका थिए । ३–० ले नै जित हात पारेको सो प्रतियोगितामा नेपालका लागि अनु लामाले दुई र वर्तमान टोलीका कप्तान नीरु थापाले एक गोल गरेकी थिइन् । त्यसैगरि, भारतमा सम्पन्न चौथो साफमा पनि नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । सो खेलमा श्रीलंकन खेलाडी रुसानी गणवद्र्धनेले आत्मघाती गोल गरेकी थिइन् । समग्रमा तीन पटकको स्पर्धामा कुनै पनि गोल आत्मसात नगरेको नेपालले श्रीलंका विरुद्ध चौथो साफसम्म कूल ७ गोल गरेको छ । साफ च्याम्पियनसिपमा नेपालले हालसम्म कुल २१ खेल खेलेको छ । जसमा १७ जित आत्मसात गरेको छ भने, ४ खेलमा हार ब्यहारेको छ । तीनपटक उपविजेतामा चित्त बुझाएको नेपालले गत संस्करणमा सेमिफाइनलमा भारतसँग ३–१ को हार बेहोरेको थियो । नेपाली टोलीले हालसम्म ९७ गोल गर्दा १४ गोल आत्मसात गरेको छ । त्यसै गरी, श्रीलंकाले हालसम्म कुल १६ खेल खेलेको छ । तीनपटक सेमीफाइनलको यात्रा तय गरेको श्रीलंकाले ६ मा जित, एकमा बराबरी र ९ वटामा हार ब्यहोरेको छ । श्रीलंकाले हालसम्म कुल १८ गोल गरेको छ भने ३९ गोल खाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले फाइनलमा प्रवेश गर्ने लक्ष्यसहित श्रीलंकासँग मैदानमा उत्रने बताए । बाँकी खेलमा उपाधि भिडन्तको लागि स्थान पक्का गर्ने सोचमा आफूहरु रहेको स्पट पारेका छन् । बुधबार हुने पहिलो सेमीफाइलनमा आफूहरुको टोलीमा कुनै परिवर्तन नहुने जनाउँदै प्रशिक्षक खड्काले श्रीलंकाविरुद्धको खेल प्रयोग भन्दा पनि जितका लागि हुने बताए । आफूहरुले भारतको प्रत्येक गतिविधी नजिकबाट नियाल्दै आएको बताउँदै उनले पहिलो प्राथमिकता सेमी भएकाले आफूहरु त्यसमै केन्द्रित हुने र आक्रामक शैलीमा मैदानमा उत्रने बताए । यसैबीच भारत र बंगलादेशबीच दोस्रो सेमिफाइनल खेल पनि भोली नै हुने भएको छ । दिउँसो ३ बजे हुने खेलमा साविक उपविजेता बंगलादेशलाई चारपटकको विजेता भारतको चुनौति रहनेछ । साफमा दुवै टोलीबीच पाँचपटक भिडन्त भएको छ । जसमा भारतले चारपटक जित हात पारेको छ भने, एकपटक खेल गोलरहित बराबरीमा खेल टुँगिएको छ । गत संस्करणमा दुवै टोलीबीच दुई पटक भेट भएको थियो । समूह चरणमा बराबरी खेल खेलको बंगलादेश फाइनलमा भने ३–१ गोल अन्तरले भारतसँग पराजित भएको थियो । साफको पाँचौं संस्करणसम्म आइपुग्दा भारतले कुनै पनि खेलमा हार ब्यहोर्नु परेको छैन । सुरुवातदेखि हालसम्म साफमा कूल २१ खेल खेलेको भारतले एक खेल बराबरीमा चित्त बुझाएको छ भने बाँकी सबै खेलमा शतप्रतिशत निकालेको छ । यस क्रममा भारतले १ सय ३१ गोल गरेको छ भने ५ गोल खाएको छ । त्यसैगरि बंगलादेशले हालसम्म १७ खेल खेलेको छ । जसमा ८ मा जित, १ मा बराबरी र ८ मा हार बेहोरेको छ । बंगलादेशले हालसम्म साफमा ३८ गोल गरेको बंगलादेशले २८ गोल खाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here