पाँच महिनामै मन्त्रालय लगिए कोशी अस्पतालका मेसु लोहनी

0
123

विराटनगर, २४ पुस । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन (मेसु) डा. गुणराज लोहनीलाई कामकाजका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेको पाँच महिनामै उहाँलाई मन्त्रालय लगिएपछि उहाँले आज विराटनगर छाड्नु भएको छ । कामकाजका लागि भन्दै पुस २१ गतेको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयमा लैजाने निर्णय गरिएका लोहनीको तत्काल दरबन्दी भने कोशी अस्पतालमै रहने छ । उहाँको ठाउँमा कसैलाई पनि मेसु बनाएर पठाइएको छैन । स्वास्थ्य विभागको पूर्व महानिर्देशक लोहनीलाई साउन दोस्रो साता कोशीको मेसु बनाएर पठाइए पनि उहाँले भदौ १ गतेदेखि अस्पतालमा हाजिर भएर काम सुरु गर्नु भएको थियो । छोटै समयमा प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पताललाई सुधारको बाटोतर्फ डोहोर्याउँदै लगेका लोहनीलाई मन्त्रालय बोलाइनुलाई ‘अस्वभाविक’ मानिएको छ । अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले मेसुका रुपमा लोहनी आएपछि अस्पतालमा सुधारका धेरै कामहरु भएको बताउनुभयो । पछिल्लो समय अस्पतालमा सरसफाई र सेवा प्रवाह एवं सेवाको गुणस्तर सुधारका धेरै काम भएका थिए । मेसु लोहनीले पूरै समय अस्पताल नबस्ने र निजी क्लिनिकमा धाउने चिकित्सकलाई कारबाहीको दायरामा ल्याउँदै अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय र भरपर्दो बनाउँदै लगेको एक कर्मचारीले बताए । डा. लोहनीले आफूले सरकारले गरेको निर्णयलाई सहर्ष स्वीकार गर्ने बताउनुभयो । मन्त्रालयका सूचना अधिकारी गणेशश्री वास्तवले मन्त्रालयमा ‘पोलिसी मेकर’ चाहिएकाले लोहनीलाई तानिएको बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here