Tune to BFM 91.2|Biratnagar

पाँच वर्षीयालाई बलात्कार गरेको आरोपमा युवा पक्राउ

विराटनगर, १८ असोज । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरबाट एक युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साहलाई प्रहरीले पक्राउ गरेर आज जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालेको छ ।

बालिकामाथि हिजो बलात्कार गरेको खुलेपछि साहलाई पक्राउ गरेर कारबाही अघि बढाउन अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो ।

प्रहरीका अनुसार उनी पीडित बालिकालाई वैशाखदेखि घरमै गएर ट्युसन पढाउँथे । पीडित बालिकासहित चार जना बालबालिकालाई अभिभावकको आग्रहमा उनले एकै ठाउँमा ट्युसन पढाउने गरेको खुलेको छ ।

पीडित बालिकाका अभिभावक छ वर्षदेखि डेरामा बस्छन् । पीडित बालिकासहित उनका ११ वर्षीय दाजु, चार वर्षीय भाई र घरबेटीका नौ वर्षीय बच्चालाई साहले घरमै पुगेर ट्युसन पढाउने गरेको प्रनि थापाले बताउनु भयो ।

ट्युसन पढ्ने क्रममा पाँच वर्षीया बालिका भने पढाउनेबाटै बलात्कारको सिकार भएकी हुन् । बलात्कार गरेको देखेपछि पीडित बालिकासहित अरु बालबालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाएका थिए । साहले ट्युसन पढाउँदै आएका सबै बालबालिका गौतम बुद्ध स्कुलमा अध्ययनरत छन् ।

पीडित बालिका नर्सरीमा पढ्छिन् । कोरोनाका कारण लामो समयदेखि स्कुल बन्द हुँदा घरमै छिमेकी युवालाई बोलाएर पढाउन लगाउने गरिएको बालिकाकी आमाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button