Tune to BFM 91.2|Biratnagar

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र ‘आउट’ प्रकण : कर्मचारीसहित १० जना पक्राउ

विराटनगर १३ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षा अगाडि नै ‘आउट’ भएको विषयको अनुसन्धानमा मोरङ प्रहरीले सफलता प्राप्त गरेको छ ।

इन्जिनियरिङ संकायको स्नातक (बीई) दोस्रो सेमिस्टरको भौतिकशास्त्र विषयको परीक्षाको प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि नै बाहिर आएको प्रकरणमा संलग्न कर्मचारीसहित १० जना पक्राउ परेका छन् । यसको अनुसन्धान मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफैले अघि बढाएका थिए । घटनामा संलग्न विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक विराटनगर महानगरपालिका–८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभाको मादी नगरपालिका–६ घर भएका ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन नगरपालिका–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेनथापा गाउँपालिका–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट र गोर्खाकै गण्डगी गाउँपालिका–३ का ३२ वर्षीय भरत पन्त पक्राउ परेका छन् । त्यस्तै गोर्खा नगरपालिका–४ का २६ वर्षीय विकाश खड्का, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरीको रामगोपालपुर नगरपालिका–९ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरीको वोदेवरसाइन नगरपालिका–७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीकै कृष्णसवरण गाउँपालिका–५ घर भइ भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

एसपी खड्काका अनुसार विश्वविद्यालयका कर्मचारी गौतमसँग व्यक्तिगत सम्पर्कमा आधारमा ‘सेटिङ’ मिलाउँदै प्रश्नपत्र परीक्षा अगाडि नै बाहिर ल्याउन कार्की सफल भएको पाइएको छ । विचौलियाको भूमिकामा रहेका कार्की काठमाडौंको मीनभवनस्थित क्याफोकेट कलेजको एमएसी दोस्रो वर्षमा अध्ययनरत रहेको खुलेको छ । विश्वविद्यालयका कर्मचारी गौतम र महेश यादवलाई विराटनगरबाटै पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताउनुभयो । पक्राउ परेका सबै जनालाई प्रहरीले आईतबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्यो । उनीहरुविरुद्ध प्रहरीले शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button