पूर्वाञ्चल विश्व विद्यालय विरुद्ध विद्यार्थी आन्दोलित

0
194

विराटनगर, १९ मंसिर । परीक्षा प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्व विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेका छन् । आन्दोलनरत विद्यार्थीले दुई दिनदेखि धर्ना दिएर नाराबाजी गर्दै विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालय घेराउ गरिरहेका छन् । उत्तर पुस्तिका पुनः परीक्षा हुनु पर्ने मुख्य माग उनीहरुको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका इष्टर्न र पुसेट ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरूले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित परीक्षा नियन्त्रण कार्यालय आज पनि घेराउ गरेका छन् । पटक–पटक परीक्षा दिँदा पनि अनुउत्तीर्ण हुने गरेपछि उत्तरपुस्तिका माग गरेर हेर्दा फेल हुने अवस्था नदेखिएको भन्दै विद्यार्थीले उत्तरपुस्तिका पुनः जाँच गर्न माग गरेका हुन् । परीक्षा प्रणाली अपारदर्शी र परीक्षार्थी मैत्री नभएको आरोप लगाउँदै हिजोबाट आन्दोलित बनेका विद्यार्थीले विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालय तोडफोड पनि गरेका छन् । तोडफोडबाट परीक्षा नियन्त्रण र सह–नियन्त्रकको कार्यालयसहित प्रशासन र लेखा शाखाका सिसा र फर्निचरमा क्षति पुगेको छ । विद्यार्थी नेता मनोजकुमार रैताले विगतमा दिइएका ईञ्जिीनियरीङको लिखित परीक्षामा विद्यार्थीहरु उतीर्ण हुनुपर्नेमा जानाजान अनुउत्तीर्ण गराउने गरेको पाइएपछि आन्दोलन गर्नु परेको बताउनु भयो । आन्दोलनरत विद्यार्थीले विभिन्न माग राख्दै परीक्षा नियन्त्रकलाई ज्ञापनपत्र समेत बुझाएका छन् । विद्यार्थीहरुले बुझाएका ज्ञापनपत्रमा हरेक सेमेष्टरमा मौका परीक्षा गर्नु पर्ने, निष्पक्ष तरिकाले परीक्षाफल सार्वजनिक गर्नु पर्ने, उत्तरपुस्तिका रिचेकिङमा लाग्ने पाँच हजार रुपैयाँ दस्तुरलाई पाँच सय रुपैयाँ मात्रै बनाउनु पर्ने, उत्तर पुस्तिका परीक्षण र परीक्षाफलमा लापरबाही गर्ने शिक्षक तथा कर्मचारीलाई बर्खास्त गर्नु पर्ने, रिचेकिङका क्रममा परीक्षाफल परिवर्तन भएको पाइएमा परिवर्तित परीक्षाफल लागू गर्नु पर्ने र उत्तरपुस्तिका कोडिङ गरेर मात्र चेक गर्न दिने व्यवस्था मिलाइनु पर्ने माग अघि सारेका छन् । विश्व विद्यालयका परीक्षा नियन्त्रक प्रा डा. सूर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु विश्व विद्यालयको नीति र नियममा रहेर सम्बोधन गर्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले क्याम्पसको माध्यमबाट प्रक्रियागतरुपमा विद्यार्थीहरुले आफ्ना समस्या लिएर आए नियमसंगत ढंगले सम्बोधन गर्न सकिने उल्लेख गर्नु भयो । कार्यालयको गेटमै धर्ना बसेर नाराबाजी गर्दै प्रदर्शन र तोडफोड गर्न थालेपछि नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर परीक्षा नियन्त्रण कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीका डीएसपी वेदप्रसाद गौतमको नेत्रृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । डीएसपी गौतमले शान्तिपूर्ण ढंगबाट आफ्ना माग राख्ने अधिकार रहे पनि आन्दोलनका नाममा अब कुनै हुलहुज्जत र तोडफोड भए त्यसमा संलग्नलाई पक्राउ गरेर कारबाही अघि बढाइने जानकारी दिनु भयो । विद्यार्थीहरुले भने आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here