पैसा दिएर नोबेलले मिलायो सुत्केरी मृत्यु घटना

0
658

विराटनगर, १६ साउन । उपचारका क्रममा लापरबाही भएर सुत्केरीको मृत्यु भएको घटनालाई विराटनगरको नोबेल शिक्षण अस्पतालले मृतकका परिवारलाई पैसा दिएर सामसुम पारेको छ । नोबेलले दुई लाख रुपैयाँ दिने भएपछि विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका मृतकका आफन्त र परिवारका सदस्य पनि मागलाई थाँती राखेर पैसो बुझ्दै आन्दोलन फिर्ता लिन राजी भएका छन् । आफन्तले शल्यक्रिया र उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनु पर्ने, पार्वतीबाट जन्मिएकी छोरीको लालनपालन र शिक्षादीक्षाको व्यवस्था अस्पतालले गर्नु पर्ने, आगामी दिनमा यस्तो घटना हुन नहुने लगायतका माग राखेर आन्दोलन थालेका थिए । तर आज दिउँसो मृतक पक्षसँग भएको वार्ताका क्रममा अस्पताल प्रशासन दुई लाख रुपैयाँ मृतकका परिवारलाई दिन सहमत भएको हो । सामान्य प्रसूतिबाटै छोरी जन्माएकी सुनसरीको रामधुनी नगरपालिका–३ की ३५ वर्षीय पार्वती कार्कीको हिजो विहान अस्पतालमै मृत्यु भएको थियो । सामान्य प्रसूतिबाटै दोस्रो सन्तान छोरी जन्माएकी उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालको दाबी छ । यता परिवारका सदस्य र आफन्तले भने अत्यधिक रक्तश्राव हुँदा पनि चिकित्सकले बेवास्था गरेको र शल्यक्रियाका क्रममा लापरबाही गर्दा मृत्यु भएको आरोप लगाएका छन् । शव बुझ्न अस्वीकार गर्दै उनीहरु आन्दोलित बनेका थिए । अस्पतालले मृतक परिवारलाई दुई लाख दिनुका साथै यस अघि मृतकका परिवारले बुझाएको २६ हजार रुपैयाँ पनि फिर्ता गरिदिएको छ । तिर्न बाँकी रहेको १० हजार पनि मिनाहा गरिदिएको छ । लेनदेनको सहमतिपछि भने परिवारका सदस्य र आफन्तले शव बुझेर अस्पतालबाट लगेका छन् । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्कसले लापरबाही नगरेको र अत्यधिक रक्तश्रावका कारण महिलाको मृत्यु भएको बताउनु भयो । पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेको पाइएपछि नवजात शिशुको संरक्षण र स्याहारमा सहयोग पुगोस भनेर अस्पतालले आर्थिक सहयोग गरेको उहाँको भनाइ छ । उहाँले मृतकका परिवारले उपचार वापत अस्पताललाई बुझाएको पैसा फिर्ता दिइएको र तिर्न बाँकी सबै रकम मिनाहा गरिएको जानकारी दिनु भयो । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here