Tune to BFM 91.2|Biratnagar

पैसा लिएर भारत घर भएका मजदुरलाई सीमा कटाउँदै गर्दा दुई जना पक्राउ

विराटनगर, ३० वैशाख । पैसा लिँदै भारत घर भएका चार जना मजदुरलाई सीमा कटाएर नेपालबाट भारत पुर्याउन लागेको अवस्थामा दुई जनालाई प्रहरीले आज बिहान विराटनगरबाट पक्राउ गरेको छ ।

‘लकडाउन’ उल्लंघन गर्दै मजदुरलाई भारततर्फ लिएर गइरहेको अवस्थामा विराटनगर महानगरपालिका–६ सरोचियाका ३६ वर्षीय अपसर आलम र ३७ वर्षीय मुवारक हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले मजदुरसँग पैसा असुल्दै उनीहरुलाई सीमा कटाएर भारत पुर्याउने प्रयास गर्दै गर्दा आलम र हुसेनलाई पक्राउ गरिएको जानकारी दिनु भयो ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन गर्दै नेपाल र भारत दुई देशमा आवतजावत गर्न रोक लगाउँदै सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ । यो अवस्थामा विराटनगर –१८ भेडियारीको बाटो हुँदै चार जनालाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा आलम र हुसेन पक्राउ परेका हुन् ।

उनीहरुले लिएर गएका चारै जना मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकमा रहेको कमला स्टिल फ्याक्ट्रिमा मजदुरी गर्छन् । प्रति व्यक्ति एक हजारका दरले चार हजार भारतीय रुपैयाँ असुल्दै उनीहरुलाई नेपालबाट सीमा कटाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ । छ जनाको समूह सीमा क्षेत्र पार गर्नै लाग्दा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले रोक्दै नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मजदुरहरुले भारत फर्कन नपाएर समस्यामा परेको र भारत फर्कनका लागि आफूहरुले पैसा तिरेको प्रहरीलाई बताएका छन ।

अप्ठेरोमा परेका बेला पैसा तिरेर भए पनि आफूहरु घर जान तयार भएको र पैसा तिरेपछि अप्ठेरो नपर्ने तथा बाटो देखाएर सीमा कटाइदिने बताउँदै दुई जनाले लिएर गएको मजदुरहरुले बताएको प्रहरीको भनाइ छ । थापाले भारतबाट आएकामा कोरोना संक्रमण देखिने क्रम बढेसँगै नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्ने काम भइरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button