Tune to BFM 91.2|Biratnagar

पौडेल समूहले आन्दोलन चर्काउन र महाधिवेशन गराउन देउवालाई दबाब दिने

काठमाण्डौं, १२ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले पार्टी महाधिवेशन गर्न र आन्दोलनलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवालाई दबाब दिने भएको छ ।

आज महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले पार्टी महाधिवेशनको कार्यतालिका तत्काल ल्याउन देउवालाई दबाब दिने निर्णय गरेको हो । आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका बनाइएको थियो। तर, निर्धारित मितिमा महाधिवेशन नहुने पक्का भएको छ । मंसिरमा टुंग्याउने भनिएको क्रियाशील सदस्यताको विषय पनि हालसम्म टुंगो लागेको छैन ।

क्रियाशील सदस्यता माघ अन्तिमसम्म टुंगो लगाइसक्ने गरी पुस ७ देखि जारी केन्द्रीय समितिको बैठकले निर्णय गरेको थियो । यस्तै केही जिल्लाको भौगोलिक समायोजन र अन्य दलबाट प्रवेश गरेकाहरुको समायोजनमा समेत सहमति जुट्न सकेको छैन । यस्तो अवस्थामा माघभित्रै क्रियाशीलको टुंगो लगाएर महाधिवेशनको नयाँ कार्यतालिका यथाशिघ्र सार्वजनिक गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष छ । विधानको व्यवस्थाअनुसार थप गर्न मिल्ने १ वर्षको समयावधि समेत सकिन लागेको छ।

संवैधानिक व्यवस्था अनुसार कांग्रेस महाधिवेशन भदौयता नै सम्पन्न गरिसक्नुपर्ने छ । यस्तै बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा निरन्तर आन्दोलन गर्नुपर्नेमा जोडसमेत दिएको छ । कांग्रेसले यसअघि निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडामा विरोध प्रदर्शन गरिसकेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला, मिनेन्द्र रिजालसहित काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button