ओली स्वेच्छाचारी बनेः झाँक्री
विराटनगर, २६ पुस । नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी बनाउन पार्टीका शिर्ष नेताहरूको अकर्मण्यता पनि कारक रहेको बताउनु भएको छ ।
‘आफू बहुमतमा हुँदाहुँदै ओलीको स्वेच्छाचारी कदम सहेर बस्नेहरुले पनि यो अवस्था ल्याउन भूमिका गरेका छन’, आज बिराटनगरमा प्रचण्ड नेपाल समूहको अखिल भेलामा बोल्दै उहाँले भन्नुभयो ‘त्यसबेला पनि तह लगाउन नसक्ने, अनि प्रतिगमन गरिसक्दा पनि धुप र बत्ती बाल्ने ?’ सडकमा सशक्त आन्दोलनको आवश्यकता औल्याउँदै उहाँले चरम अवसरवादी चरित्रबाट त्यो सम्भव नहुने बताउनुभयो ।
‘अहिले पूर्व एमाले एक हौं भन्नु ओलीले आफ्नो अनन्य मित्र, राष्ट्रपति र चार जना धर्मछोराको मुख्यमन्त्री पद जोगाउने षड्यन्त्र मात्रै हो’ उहाँले थप्नुभयो ‘अब एमाले छैन, नेकपा मात्रै छ। त्यस्ता अवसरवादी कुराको पछि नलागौं ।’ पार्टीको नाम, झन्डा वा चुनाव चिन्ह कता पर्ला भनेर मौन बस्नेहरू नै अवसरवादको चरम नमुना भएको उहाँको भनाइ छ । ‘के फरक पर्छ जे जता परे पनि’ उहाँले भन्नुभयो ‘चुनाव चिन्ह र झन्डा आन्दोलनले स्थापित गर्छ ।
फेरि अर्काे समूहले पाउनु पर्ने कुनै कारण छैन ।’ ओली पहिल्यैदेखि विदेशीको गोटी बनेको उहाँको आरोप थियो । ‘पहिलो संविधानसभा विघटन हुनुमा पनि उहाँको भूमिका थियो, उहाँ त्यो बेलैदेखि विदेशीको गोटी बन्नुभएको हो’ झाँक्रीले भन्नुभयो ।