Tune to BFM 91.2|Biratnagar

प्रतिबन्धित औषधि बिक्री गर्दै हिँडेका युवा पक्राउ

विराटनगर, १९ साउन । मोरङको लेटाङ नगरपालिका–८ जाँतेबाट प्रहरीले लुकाईछिपाई टेम्पोमा राखेर प्रतिबन्धित औषधि बिक्री गर्दै हिँडेका एक युवालाई गयराति पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी निरीक्षक अशोककुमार जवेगूको नेत्रृत्वमा परिचालित टोलीले राति १०ः४५ बजेतिर २८ वर्षीय मनोजकुमार मगरलाई पक्राउ गरेको हो । नेपालमा बिक्रीका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको औषधि को २ ह ६१७४ नम्बरको टेम्पोमा राखेर बिक्री गर्दै हिँडिरहेको अवस्थामा मगरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

टेम्पोबाट तीन सय १६ ट्याब्लेट ट्रामा र तीन सय ८८ ट्याब्लेट डिकोलिक नामक प्रतिबन्धित औषधि फेला परेको राईको भनाइ छ । औषधि बिक्री गरेर ल्याएको १० हजार रुपैयाँ नगद पनि प्रहरीले मगरको साथबाट बरामद गरेको छ । प्रहरीकाअनुसार बरामद गरिएको प्रतिबन्धित औषधि लागुऔषध जत्तिकै हानिकारक हो ।

नेपालमा बिक्रीको अनुमति नदिइएका दुवै औषधि मिसाएर सेवन गर्दा यसले लागुऔषधको नसा दिने प्रहरीको भनाइ छ । मगरलाई बरामद गरिएको औषधि र नियन्त्रणमा लिइएको टेम्पोसहित प्रहरीले आवश्यक कारबाहीका लागि आज औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको छ । विभागले उनीविरुद्ध औषधि ऐन अन्तर्गत कारबाही अघि बढाउने तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button