Tune to BFM 91.2|Biratnagar

प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

विराटनगर, १५ वैशाख । प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रतिबन्धित नोटसहित एक जना भारतीय नागरिकलाई हिजोसाँझ पक्राउ गरेको छ । प्रतिबन्धित भारतीय नोट (भारु)सहित भारत अररियाका २२ वर्षीय रुपेश ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

उहाँका अनुसार ठाकुर साँझ ५ः३० बजेतिर बीआर ३८ टी ३४१० नम्बरको भारतीय मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । शंका लागेर इलाका प्रहरी कार्यालय रानीको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दासाथबाट प्रतिबन्धित भारतीयसहित नेपाली नोट पनि बरामद भएको हो । डीएसपी राईका अनुसार पक्राउ परेका ठाकुरको साथबाट पाँच सय रुपैयाँ दरका ७७ थान (भारु ३८ हजार पाँच सय) भारतीय नोट फेला परेको छ ।

यसको नेपाली रुपैयाँ ६१ हजार छ सय हुन्छ । पक्राउ परेका भारतीय नागरिकले साथमा रहेको नोटको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । नेपालमा पाँच सय रुपैयाँमाथिका भारतीय नोट बोक्न र प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । साथै ठाकुरको साथबाट नेपाली एक हजार दरका २६ वटा, पाँच सय दरका ४० वटा, एक सय दरका छ वटा र १० रुपैयाँको एउटा नोट गरेर ४६ हजार छ सय १० रुपैयाँ बरामद भएको छ । डीएसपी राईले पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाइने जानकारी दिनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button