Tune to BFM 91.2|Biratnagar

प्रतिबन्धित भारतीय नोटसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर, १७ पुस । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई हिजो साँझ पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मटेरुवाबाट अवैध भारतीय रुपैयाँ (भारु) सहित भारतीय नागरिक २५ वर्षीय सुजित कुमार पक्राउ परेका हुन् ।

उनी भारत अररीयाका हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले उनलाई पाँच सय दरका अवैध भारतीय नोटसहित साँझ ५ बजेतिर पक्राउ गरिएको बताउनु भयो । उहाँका अनुसार पक्राउ परेका सुजितको साथबाट पाँच सय दरका एक सय चारवटा भारतीय नोट फेला परेका छन् । सुजितको साथबाट जम्मा ५२ हजार भारतीय रुपैयाँ बरामद भएको थापाले बताउनुभयो ।

नेपालमा पाँच सय दरका भारतीय नोट बोक्न प्रतिबन्ध छ । प्रतिबन्धित नोट साथमा बोकेर अवैध रुपमा नेपाल प्रवेश गरेको पाइएपछि पक्राउ गरिएका सुजितलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाइइने जानकारी प्रनि थापाले दिनु भयो । पक्राउ परेका युवाले भने आफू नयाँ वर्ष मनाउन पैसा बोकेर नेपाल आएको बताएका छन् । उनले घुमफिरका लागि पोखरासम्म पुग्ने योजना रहेको पनि प्रहरीलाई सुनाएका छन् ।

तर कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सीमा नाका लामो समयदेखि सिल छ । दुवै देशमा आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउँदै नाका सिल गरिएको अवस्थामा प्रतिबन्धित नोट बोकेर भारतीय युवा नेपाल छिरेका हुन् । प्रहरीले भने नाका सिल भएको अवस्थामा नयाँ वर्षमा घुमफिर गर्ने बाहना बनाउँदै अवैध हुन्डी कारोबारको पैसा बोकेर उनी नेपाल आएको हुनसक्ने आशंका गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button