Tune to BFM 91.2|Biratnagar

प्रदेशको निर्णय प्रदेशले गर्छ : मन्त्री तुम्बाहाङफे

विराटनगर २० पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधि सभा विघठन पछि त्यसको असर प्रदेशमा पनि देखिएको बताउनु भएको छ । उहाले प्रदेश स्वायत्त भएकाले प्रदेशसभा विघठन गर्ने अधिकार पनि उसैसँग भएको बताउनुभयो ।

उहाले भन्नुभयो,‘ प्रदेशसभाका आफ्नै क्षेत्राधिकार, ऐन र नियमावली छ ।’ राष्ट्रिय राजनीतिको प्रभाव प्रदेश स्तरमा पनि देखिएको उहाको भनाई छ । विराटनगरका आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा. तुम्बाहाङफेले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विभाजित नभएको बताउनुभयो । उहाले कुनै एउटा समूह मात्र अलग भएको प्रष्टपार्नुभयो । अलग भएर गएको समूहसँग मिलेर जाने ठाउँ अझै रहेको उहाको भनाई छ ।

प्रधानमन्त्रीले सार्वजनिक रुपमै फर्कन आह्वान गर्नुभएको उहाले‘ बताउनुभयो ।’ प्रतिनिधिसभा कसैको इसारामा विघठन नभएको उहाको दावी छ । सरकारले लक्ष्य अनुसार काम गर्न नपाएको र अवरोध भएपछि ताजा जनादेशको निर्णय भएको मन्त्री डा. मन्त्री तुम्बाहाङफेले बताउनुभयो । मन्त्री तुम्बाहाङफेले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताउनुभयो । उहाले वैशाखमा निर्वाचन गर्ने गरि काम शुरु भएको समेत बताउनुभयो ।भारतीय पक्षले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई वर्तमान सरकारले नै नेपाली नक्सामा समेटेको र संविधान संशोधन मार्फत निशान छाप अद्यावधिक गरेकोले यो ऐतिहासिक उपलब्धी भएको उहाको जिकिर छ ।

‘प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाको कार्यकालमा त्यो काम हुन सकेन’, उहाले भन्नुभयो ‘संविधान संशोधन गरेर निशान छाप अद्यावधिक गर्दा कसैले पनि विरोध गरेन, राष्ट्र र राष्ट्रियताको पक्षमा सबै उभिए । यो पनि सरकारले गरेको महत्वपूर्ण कामको ऐतिहासिक उदाहरण हो ।’वर्तमान सरकार प्रतिनिधिसभा नरहेको अवस्थामा कामचलाउ भइसकेको पनि मन्त्री तुम्बाहाङफेले बताउनुभयो ।

प्रधानमन्त्री नै संविधान अनुसार कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उहाको भनाइ थियो । यद्यपि खाली रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्न भने प्रधानमन्त्रीलाई संवैधानिक अड्चन नरहेको तुम्बाहाम्फेको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button