प्रदेशलाई आईकेयर टुरिजमका रुपमा विकास गर्न सकिन्छ : मुख्य मन्त्री

0
41

विराटनगर, १९ मंसिर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशलाई आईकेयर टुरिजमका रुपमा विकास गरेर लैजान सकिने बताउनु भएको छ । विराटनगरमा आज आयोजित विद्यार्थी तथा बालबालिकामा दिने दृष्टिदोष निवारण कार्यक्रमको उद्धघाटन गर्दै राईले आँखाको उपचारका लागि सर्वसाधारण बिरामीले अन्य जान नपर्ने बताउनु भयो । उहाँले प्रदेशलाई आईकेयर टुरिजमका रुपमा विकास गर्न प्रदेश सरकारले पनि सहयोग गर्ने बताउनु भयो । ‘विराटनगरमा प्रत्येक वर्ष आँखा उपचारका लागि छिमेकी राष्ट्र भारतबाट लाखौं बिरामी आउने गरेका छन्,’ उहाँले भन्नु भयो, ‘ त्यही भएर पनि सिंगो प्रदेशलाई नै आईकेयर टुरिजमका रुपमा विकास गर्न सकिन्छ ।’ आँखाको उपचारका लागि प्रदेशमै अब्बल रहेको विराटनगरसंगै प्रदेशलाई आईकेयर टुरिजमका रुपमा अघि बढाउन सकिने प्रचुर सम्भावना रहेको राईको भनाइ छ । नेपाल नेत्र ज्योति संघ र अरविस अन्र्तराष्ट्रिय संस्थाद्वारा सुरु गरिएको दृष्टिदोष निवारण कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका तथा सुनसरीका विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिने बताइएको छ । कार्यक्रम अन्र्तगत दुई लाख ८० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरिने छ । आवश्यकता परे विद्यार्थीलाई औषधि र छ हजार रुपैयाँसम्मको चश्मा निःशुल्क वितरण गरिने बताइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here